दमक/ झापाको कमल गाउँपालिका वडा नं १ का वडाध्यक्ष केदार कटवालको नाम र फोटो प्रयोग गरेर अज्ञात गिरोहले ठगी गर्ने प्रयास गरेको छ । कटवालका नाममा उनको फेसबुक आइडीमा प्रयोग भएको फोटो प्रयोग गरी नक्कली नक्कली फेसबुक अकाउण्ट खालेर म्यासेन्जर मार्फत नजिकका साथीहरुसंग सो समुहले रकम असुलीको प्रयास गरेको हो ।


दुरुस्तै आफनो आइडी बनाएर, श्रीमतिसंगका फोटाहरु समेत अपलोड गर्दै सो नक्कली अकाउण्ट चलिरहेपछि कटवाल आज शनिबार प्रहरी समक्ष पुगेका छन । उनले आजै इलाका प्रहरी कार्यालय दमकमा सो बिषयमा लिखित जानकारी गराउँदै सो गिरोहको पहिचान गरी कारवाहीको दायरामा ल्याउन निवेदन गरेका हुन । यस अघि दमककै द एभरेष्ट सहकारीका सञ्चालक समिति उपाध्यक्ष एवं दमक खानेपानीका अध्यक्ष रोशन गौतमको समेत फेसबुक अकाउण्ट ह्याक गरेर अज्ञात गिरोहले २० हजार रुपैयाँ ठगी गरेको थियो । त्यस्तै उर्लाबारीका एक जना व्यवसायी नेताका नामको फेसबुक अकाउण्ट ह्याक गरी त्यस्तै प्रकृतिको गिरोहले लाखौं रुपैयाँ ठगी गरेको थियो । प्रविधिको दुरुपयोग गर्दै ठगी गर्ने गिरोह सक्रिय भएपनि पछिल्ला यि घटनामा संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन प्रहरी असफल हुनुले सर्वसाधारणहरु चिन्तित छन । प्रविधिमार्फत यस किसिमका सञ्जालका प्रयोगकर्ताहरु आफैं सचेत हुनुपर्ने देखिएको छ । विशेष गरी आर्थिक कारोबार गर्ने मामिलामा सामाजिक सञ्जाल मार्फत आएको जानकारीकै आधारमा मात्रै कारोबार गर्न नहुने देखिन्छ ।

Facebook Comments