दमक/ झापाको कमल गाउँपालिका २ को कमला मदन आश्रित माविमा शुक्रबार दिउँसो भएको एउटा कृत्रिम घटना । बिद्यालयमा अचानक आगलागी भयो । त्यहाँ घटनासंगै कोलाहल मच्चियो । अचानक भाग दौड शुरु भयो । त्यतिकैमा नेपाली सेनाको उद्धार टोली आई पुग्यो र आगो नियन्त्रणमा लियो । आगो निभाउने क्रममा एक जना घाईते पनि भए । उनको सेनाको टोलीले उद्धार गर्यो र प्रारम्भिक उपचार शुरु गर्यो ।
यो कृत्रिम घटना र त्यसपछिका क्रियाकलापहरु वास्तविक नभएर विद्यार्थीहरुलाई आगलागीको घटना नियन्त्रणका उपाय सिकाउन गरिएको प्रयोगात्मक अभ्यास थियो । विद्यालय परिसर भित्रै एक अस्थाई टहरा निर्माण गरि साँच्चिकै आगो लगाएर त्यसलाई नियन्त्रण गर्ने उपाय र शैली सिकाईएको हो । सुख्खा समय शुरु भएको र आगलागीका घटना बढ्न सक्ने भएकाले विद्यार्थीहरुलाई त्यस्तो प्रकोपको बेला कसरी होशियारी पूर्वक काम गर्ने भन्ने सिकाउन त्यो प्रयोगात्मक अभ्यास गराईएको थियो ।


कारिटास नेपालले गाउँपालिकासँगको सहकार्यमा २ दिन सैद्धान्तिक सिकाई पछि प्रयोगात्मक अभ्यास गराउन झापाकै चारआली स्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणको सहयोग लिएको हो । सेनाको टोलीले आगलागी नियन्त्रणसँगै स्थानीय स्तरमा विना पैसा प्राप्त हुने श्रोत सामाग्रीको प्रयोग गरि बाढि पहिरोको बेला उद्धारमा आवश्यक पर्ने उपकरण बनाउन पनि सिकाएको कार्यक्रमका सहजकर्ता गोविन्दराज कट्टेलले जानकारी दिए । नेपाली सेनाका क्याप्टेन सुरज कटुवाल नेतृत्वको टोलीले सर्पदंशबाट कसरी बच्ने, सर्पडसेमा कसरी सुरक्षित रुपमा उपचार केन्द्र सम्म लैजाने भन्ने बारेमा पनि सिकाएको थियो ।
३० स्वयम्सेवक तयार
सामाजिक परिवर्तन तथा उत्थानशिलताका लागि युवा सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रकोपको समयमा खट्न सक्ने ३० जना स्वयम्सेवक तयार पार्ने उदेश्यले कार्यक्रम गरिएको सहजकर्ता कट्टेलले जानकारी दिए । सामाजिक कार्य तथा मानवीय सेवामा युवाहरुलाई प्रेरित गर्न यस प्रकारका कार्यक्रम उपयोगी भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । गाउँपालिकाले पनि युवाहरुमा नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

Facebook Comments Box