दमक/  दमक उद्योग वाणिज्य संघको स्वास्थ्य तथा खेलकुद उपसमितिले शुक्रबार दमकमा बस्तुगत संघमा आवद्ध व्यवसायीहरुबीच ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको छ । दमक ६ स्थित ब्याडमिन्टन हलमा आयोजित कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले प्रतियोगिताको उदघाटन गरेका थिए । प्रमुख अतिथी ओलीले खेलकुदका माध्यमबाट अनेकन फाइदाहरु हुने उल्लेख गर्दै स्वस्थ रहनका लागि खेलकुदले विशेष महत्व राख्ने बताए । उनले नगरपालिका स्थानीयस्तरमा खेलकुद प्रतिभाहरुको उजागर गर्दै यसको बिकासमा लागिरहेको उल्लेख गरे ।


उदघाटन कार्यक्रममा नगर प्रमुख ओली र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सांकेतिक रुपमा ब्याडमिन्टन खेलेर खेलको शुरुवात गरेका थिए ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वास्थ्य तथा खेलकुद उपसमिति संयोजक राजेश अधिकारीेले व्यवसायीहरुको स्वास्थ्य र आपसी सदभावलाई बढाउन त्यस किसिमको प्रतियोगिता आयोजना गरिएको बताएका थिए ।

उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँसहित संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न वस्तुगत संघका १६ वटा टिमले भाग लिएका संयोजक अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा अटो मावाइल्स व्यवसायी संघले प्रथम स्थान हासिल गरेको छ भने जुत्ता चप्पल व्यवसायी संघ दोश्रो र होटल तथा मदिरा व्यवसायी संघ तेस्रो भएका छन । पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद तथा ट्रफी र मेडल प्रदान गरिएको छ ।

 

Facebook Comments Box