दमक/ झापामा अपाङगता भएका बिद्यार्थीहरुबीच छुट्टै अतिरिक्त क्रियाकलाप तथा सम्मान कार्यक्रम गरिएको छ ।

जिल्लाका विभिन्न करिब आधा दर्जन बिद्यालयमा सञ्चालित विशेष कक्षामा अध्ययनरत बहिरा तथा सुस्त श्रवण भएका बालबालिकाहरुबीच कमल ५ पाडाजुँगीस्थित निर्माणाधिन रंगशालामा आज ( शुक्रबार) सो प्रतियोगिता सञ्चालन गरिएको हो । त्यस अवसरमा बिद्यार्थीहरुले दौड, हिज्जे, हाजिरीजवाफ लगायत विभिन्न २१ वटा बिधामा भाग लिएका आयोजक संस्था लेखाजोखा तथा परामर्श केन्द्र झापाकी संयोजक लुना शिवाकोटीले जानकारी दिइन । सबै प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
मंगलमय मावि कमल ५ को व्यवस्थापनमा सञ्चालित सो कार्यक्रममा दुर्गा मावि विर्तामोडका स्रोत शिक्षक खिल प्रसाद शिवाकोटी, ताराबारी आधारभुत बिद्यालय दमकका बासुदेव बराल, मंगलमय माविका पूर्व प्रधानाध्यापक ओमप्रसाद खनाल, कन्काई मावि कन्काईका बेदराज खतिवडा र केयर टेकर टिकादेवी आचार्यलाई सम्मान गरिएको थियो ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफलेको प्रमुख आतिथ्य र मंगलमय माविका प्रधानाध्यापक मोहन बगालेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटी, गाउँपालिकाका शिक्षा प्रमुख सूर्य प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
