दमक/ झापाका स्थानीय तहमा अघिल्लो पटक कोरोना संक्रमण तिब्र गतिमा फैलिँदा संक्रमितहरुको उपचारका लागि बनाइएका कोभिड अस्पताल यतिबेला सुनसान छन । कोरोनाको दोश्रो लहर तिब्र हुँदा संक्रमितहरु ति अस्पतालमा उपचारका लागि गएका छैनन ।
कतिपय आर्थिक अवस्था मजवुत भएका र पहुँच पुग्नेहरु शहरका सुविधा सम्पन्न अस्पतालमा भर्ना भएका छन भने कोरोना पोजिटिभ रिपोर्ट आएर पनि स्वास्थ्य अवस्था सामान्य रहेका सर्वसाधारण घरमै उपचाररत छन ।
शहरका महंगा र सुविधा सम्पन्न अस्पतालहरुमा कोरोना संक्रमितहरुले अक्सिजन र उपचारका लागि वेड सम्म नपाएका समाचारहरु बाहिर आइरहँदा दमक, गौरीगञ्ज, गौरादह, र कमलमा सरकारी लागतमा सञ्चालन गरिएका कोभिड विशेष उपचार केन्द्र भने सुनसान छन । कोरोनाको उपचारका लागि तोकिएका ति अस्पतालमा संक्रमितहरु गएकै छैनन ।
दमक २ को बेलडाँगीमा रहेको दमक अस्पताल कोभिड उपचार केन्द्रमा ४ वटा एचडीयुसहित कूल ३० बेड क्षमता छ । दमकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५९ हाराहारीमा छ । नगरपालिकामा केही दिन अघि कोरोना रोकथाम सम्बन्धिको बैठकमा कोभिड उपचार केन्द्र सञ्चालनमा रहेको जनाइयो । संक्रमित मध्ये ४ जना उपचारका लागि अस्पतालमा त छन । तर कोभिड उपचार केन्द्रमा छैनन ।
उनीहरु आफनो निजी खर्चमा अन्य अस्पतालहरुमा उपचाररत छन । अन्य ५५ जना संक्रमितहरु घर घरमै चिकित्सकहरुको सल्लाह अनुसार उपचाररत छन ।
दमकको कोभिड उपचार केन्द्रमा अक्सिजन बाहेकको सबै सेवा निशुल्क छ । अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई भने तत्काल प्रति घण्टा ५० रुपैयाँ र २४ सै घण्टा अक्सिजन दिनुपर्ने अवस्था भएमा जम्मा ८०० रुपैयाँ शुल्क तोकिएको छ । संक्रमितहरुको उपचारका लागि अन्य कुनै पनि किसिमका शुल्क सो उपचार केन्द्रमा लाग्दैन ।  आइतबारदेखि  सो अस्पतालमा बिरामी भर्ना लिइने नगरपालिका स्रोतले जनाएको छ ।
भारतीय सीमासंग जोडिएको जिल्लाकै गौरीगञ्ज गाउँपालिकामा अहिले २२ जना कोरोनाको नयाँ भेरियन्टबाट संक्रमितहरु छन । २१ जना वडा नं २१ का छन । अर्का एक जना वडा नं ४ का छन । यो गाउँपालिकाका सर्वसाधारणका लागि पनि वडा नं ६ स्थित खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाका बिरामीका लागि १० वटा अक्सिजनसहितको बेड छन । त्यहाँ पनि सरकारले कोभिडका बिरामीको उपचारका लागि भने कोभिड अस्पताल सञ्चालन गरेको हो तर गौरीगञ्जका सबै संक्रमितहरु घर घरमै उपचाररत छन । उनीहरू सबै होम क्वारेन्टाइनमा बसेका छन् ।
स्वास्थ्यकर्मीको रेखदेखमा उपचार गर्ने गरि स्थानिय सरकारले स्थापना गरेको आइसोलेसनमा कोरोना संक्रमितहरू गएकै छैनन । गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले कोभिडको लक्षण नदेखिएको तर पीसिआर रिपोर्ट पोजिटिभ भएकाहरूलाई होम आइसोलेसनमा बसेका बताए ।
सरकारको कोरोना संक्रमितहरूको अवस्था सामान्य भए होम क्वारेन्टाइनमा राखेर उपचार गर्न सक्ने नीति अनुरूप गौरीगञ्ज गाउँपालिकाले होम क्वारेन्टाइनमा रहेर उपचार गर्न सकिने नीति लिएको स्वास्थ्य प्रमुख मिश्र बताउँछन् । संक्रमितहरूले स्थानिय सरकारले व्यवस्था गरेको कोभिड विशेष उपचार केन्द्रमा भन्दा घरमै बसेर उपचार गर्दा आफू बढी सुरक्षित हुने महसुस गरेर होम आइसोलेसनमा बसेका हुन सक्ने स्वास्थ्य प्रमुख मिश्रको बुझाई छ ।

 

Facebook Comments Box