दमक/ झापाको दमक २ स्थित कोभिड अस्पताल परिसरमा आज पहिलो दिन ३० जनाको पीसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ । बिहान साढे १० बजेदेखि स्वाव लिन शुरु गरिएको थियो । संकलन गरिएको स्वाव स्वास्थ्यकर्मी , कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्ति र अस्पतालमा चिकित्सकहरुले सिफारिस गरेका बिरामीको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले कोरोनाको नयाँ भेरियन्ट संक्रमण तिब्र गतिमा फैलिएपछि निश्चित दायरा भित्र पर्ने शंकास्पद बिरामीको पिसीआर परिक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको हो । सरकारले अहिलेसम्म सरकारी अस्पतालमा पुगेर चिकित्सकले सिफारिस गरेका बिरामीको लागि मात्रै यो सुबिधा दिदै आएको छ । त्यस्तो सुबिधा झापाको मेची अस्पतालमा मात्रै थियो । कोरोनाको दोस्रो लहर चलिरहदा देशभरमा पहिलो पटक दमक नगरपालिकामा स्थानीय सरकारबाट यो सुबिधा उपलब्ध भएको जनाइएको छ ।
नगरपालिकाले वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा नगरबासीहरुका लागि यो सुविधा उपलब्ध गराएको नगर स्वास्थ्य शाखाका कर्मचारी कुबेर भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानसंग सातामा दुई पटक गरेर कूल १०० जना सम्मको स्वाव परिक्षणका लागि सहकार्य गरिएको छ । सरकारले कोरोना परिक्षणका लागि स्वाव परिक्षण निशुल्क गर्न नसकिरहेको अवस्थामा पनि दमक नगरपालिकाले यहाँको अवस्थालाई मध्यनजर गर्दै दमक नगरबासीका लागि मात्रै निशुल्क परिक्षणको व्यवस्था मिलाएको हो ।