दमक/नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि झापाका सहकारी संस्थाहरुले सामुहिक रुपमा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग स्वरुप प्रदान गरेका छन । संक्रमण रोकथामका लागि अग्रभागमा खटिने गरेका सुरक्षाकर्मीलाई झापाका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी सङ्घले करिब ६ लाख मुल्य बराबरका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।


संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी सम्मिलित टोलीले आज आइतबार जिल्ला प्रशासन कार्यालय झापामा पुगेर प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत १० हजार थान सर्जिकल मास्क, ६० थान पीपीइ सेट, ६ हजार सेट ग्लोब्स, एक हजार थान फेसशील्ड र १८०० लिटर स्यानिटाइजर उपलब्ध प्रदान गरेको हो ।
ति सामाग्री प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले ग्रहण गर्दै कोरोना महामारीका विरुद्धको लडाइँमा सहकारी क्षेत्रबाट भएको योगदानले सुरक्षाकर्मीहरुको मनोबल अझै बढने बताए ।
सो अवसरमा झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, नेपाली सेनाका गौरवजंग थापा र सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डे लगायत सहभागी थिए ।
झापा जिल्ला सहकारी संघले गत वर्ष पनि जिल्लाका प्रारम्भिक सहकारी संस्थाहरूको सहयोगमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाका कारण सङ्कटमा परेका नागरिकहरूलाई राहतका लागि नगद सहयोग गरेको थियो । त्यस्तै झापाको कनकाईमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण ल्याब स्थापनामा समेत संघले उल्लेखीय सहयोग गरेको थियो ।
सङ्घले यस पटक कोरोना भाइरस सङ्क्रमितहरूलाई निमोनिया हुने जोखिम अत्यधिक देखिएकोले सङ्क्रमितहरूको एक्स–रे गर्न २५ लाख रुपैयाँ बराबरको अत्याधुनिक एक्स–रे मेशिन पनि ल्याउने तयारी गरेको जनाइएको छ ।

Facebook Comments Box