दमक/झापाको दमकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका बिरामीको संख्या ६ सय नाघेको छ । आज ( सोमबार) साँझ सम्म प्राप्त रिपोर्ट अनुसार दमकमा कूल ६११ जनामा संक्रमण पुष्टि भएको हो ।  आज मात्रै ३२ पुरुष र ३४ जना महिलामा संक्रमण पुष्टि भएको रिपोर्ट नगरपालिकाको स्वास्थ्य शाखामा प्राप्त भएको शाखाका कुबेर भट्टराईले जानकारी दिए । अहिले सम्म ३४३ पुरुष र २६८ महिलामा संक्तमण पुष्टि भएको हो । अहिले पनि नगरमा सक्रिय संक्रमितको संख्या ५१६ छ । जसमध्ये २८९ पुरुष र २२७ महिला छन ।
भट्टराईका अनुसार दमकमा अहिले सम्म ८९ जना कोरोना संक्रमण मुक्त भएका छन । ति मध्ये ५२ पुरुष र ३७ महिला छन ।
आजै मात्रै २१ पुरुष र ७ महिला कोरोना संक्रमण मुक्त भएका छन भने चैत्र २५ यता शुरु भएको दोश्रो चरणको नयाँ भेरियन्टसहितको संक्रमणका कारण ८ जनाले ज्यान गुमाउनु परेको छ ।
बेलडाँगीमा लायन्सकर्मीहरु आइसोलेसन सेन्टर बनाउँदै
यसैबीच कोरोना संक्रमणका कारण दिनानुदिन अवस्था गम्भिर बनेपछि दमकमा क्षेत्रमा क्रियाशील दमक उद्योग वाणिज्य संघ, लायन्स क्लबहरु मार्फत  यहाँमा सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरु  आइसोलेसन सेन्टर व्यवस्थापनका लागि खटिएका छन ।

संयुक्त प्रयासमा बेलडाँगीस्थित भुटानी शरणार्थी रेखदेखको प्रयोजनका लागि रहेको संरचनालाई पुननिर्माण गरेर आइसोलेसन सेन्टरका रुपमा बिकास गर्न  सहयोग गरेका हुन । सो कार्यमा होलसेल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, दमक खानेपानी तथ सरसफाई उपभोक्ता संस्थाम र नेपाल रेडक्रस सोसाइटीको समेत सहयोग   छ ।
स्थानीय सरकारद्धारा निर्माण गरिएको दमक अस्पताल कोभिड उपचार केन्द्र बेलडाँगी नजिकै संक्रमण भएका तथा लक्षण चिन्ह देखिएका तथा रिपोर्ट प्राप्त नभइसकेका बिरामीहरुको समेत व्यवस्थापनका लागि त्यहाँ आइसोलेसन सेन्टर निर्माण गर्ने उद्धेश्य राखिएको छ ।
लायन लिडर ज्ञाननाथ पौडेलले नगरपालिकाको आव्हानमा कोरोना महामारी विरुद्ध एकजुट हुने प्रयास स्वरुप त्यहाँ लायन्सकर्मीहरु सेवाका भावना राखेर जुटेको बताए ।
आजदेखि त्यहाँको संरचना पुननिर्माण गरेर आवश्यक विजुली, पानी, बेड आदिको व्यवस्थापन गरि लायन कोभिड आइसोलेसन सेन्टर निर्माण गर्ने लक्ष्यसाथ धमाधम काम भइरहेको पौडेलले बताए । त्यहाँ तत्काल १५ वटा आइसोलेसन बेड निर्माण गरिने र २५ वटा सम्म निर्माण गर्ने लक्ष्य राखिएको छ । संक्रमण भएका तथा शंकास्पद विरामीहरुलाई क्वारेन्टाइन बेड, आइसोलेसन बेड र अस्पताल बेडमा आवश्यकता अनुसार राख्ने गरिएको र आइसोलेसन बेड स्थापनामा लायन्सकर्मीहरुले सक्रियता देखाएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको भनाई छ ।
उपप्रमुख अधिकारीले सामाजिक संघ संस्थाहरु तथा सबै सहयोगी दाताहरुको सहयोग लिएर नै कोरोना विरुद्ध अघि बढनु पर्ने अवस्था रहेको पनि उनले बताएकी छिन । उपप्रमुख अधिकारीले सबै संघसंस्था र सहयोगी दाताहरुलाई कोरोना विरुद्धको लडाइँमा एकजुट हुन आव्हान समेत गरेकी छिन ।

 

Facebook Comments Box