दमक/ गौरीगञ्ज गाउँपालिकामा बसोबास गर्ने अति विपन्न परिवारको कोरोना परिक्षण निशुल्क गर्ने व्यवस्था मिलाइएको छ । संक्रमणलाई नियन्त्रण र रोकथाम गर्न स्थापना गरिएको कोभिड नियन्त्रण कोषमार्फत अति विपन्न परिवारका सदस्यहरुलाई लक्षण चिन्ह देखिएको अवस्थामा चिकित्सकहरुको सिफारिसमा पीसिआर परिक्षण निशुल्क गर्ने व्यवस्था मिलाइएको हो । गाउँपालिकाले सो प्रयोजनका लागि ५ लाख रुपैयाँसहित कोभिड रोकथाम तथा नियन्त्रण कोषमा कूल १० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा आज बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाका योजना अधिकृत नारायण प्रसाद चँदराले जानकारी दिए ।
कोभिड नियन्त्रण कोषबाट वैठकले २ लाख रुपैयाँ पीपीई, सेनिटाइजर, मास्क, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय पनि गरेको छ ।
गाउँपालिकाले स्थापना गरेको १५ बेडको आइसोलेसन वार्डका लागि अक्सिजन सिलिण्डर खरिद गर्न १ लाख रुपैयाँ, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने विरामीका लागि खाना, नास्ता, एम्बुलेन्स तथा सरसफाईका लागि २ लाख रुपैयाँ र फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको योजना अधिकृत चँदराले जानकारी दिए ।
सो गाउँपालिकामा लामो समयदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता भने बैंक खुले लगतै वितरण गर्ने निर्णय भएको छ