दमक/ दमकमा कोरोना संक्रमितहरुको उपचार थप सहज बन्दै गएको छ । स्थानीय सरकार, स्वास्थ्य सरोकारका निकायहरु, सामाजिक संघ संस्था तथा नागरिकहरुको प्रत्यक्ष सक्रियताका कारण अन्य ठाउँको तुलनामा दमकमा संक्रमितहरुको उपचारमा सहज भएको हो ।
दमकस्थित दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्रलाई थप व्यवस्थित बनाउँदै स्तरोन्नती गर्ने कार्यमा सबै नगरबासीहरुको सहयोगका कारण दमक र आसपास क्षेत्रका समेत सर्वसाधारण कोरोना संक्रमितहरुको उपचार दमकमै सहज भएको नगरपालिका उपप्रमुख तथा कोभिड उपचार केन्द्रकी संयोजक गीता अधिकारीको बुझाई छ । संक्रमणका कारण दिनानुदिन अवस्था गम्भिर बनेपछि दमकमा क्षेत्रमा क्रियाशील सामाजिक संघ संस्थाहरुको अगुवाईमा नागरिकस्तरबाटै थप २५ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ । यस अघि दमकमा दमक अस्पताल मातहत निर्माण गरिएको कोभिड उपचार केन्द्रमा ३० बेड क्षमता रहेको थियो ।

शुक्रबार थप गरिएका २५ आइसोलेसन बेडसहित अब एकसाथ ५५ जना सम्मले सो ठाउँमा सहज रुपमा उपचार पाउनेछन । त्यहाँ भर्खरै एक बेड आइसियू र ४ बेडमा एचडीयु सेवा उपलब्ध हुन थालेको छ । अधिकांश बेड भरिभराउ छन । दमक उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, दमक खानेपानी तथा सरसफाई उपभोक्ता समिति, यहाँ क्रियाशील लायन्स क्लबहरु मार्फत लायन्सकर्मीहरुको संयुक्त प्रयासमा बनाइएको आइसोलेसन बेड शुक्रबार दमक अस्पताल कोभिड उपचार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार नगर प्रमुख रोमनाथ ओलीको प्रमुख उपस्थितीमा सो आइसोलेसन वार्ड पुननिर्माण गरि अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी नगरपालिका उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको आइसोलेसन शुभारम्भ कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ , दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रोशन गौतम, लायन लिडर अजय अग्रवालले सबैले एक ठाउँ उभिएर कोरोना महामारीको सामना गर्नुपर्ने अवस्था आएकाले दमक एकजुट भए कसैले अकालमा ज्यान गुमाउनुु पर्ने अवस्था नआउने बताए ।
संयुक्त प्रयासमा बेलडाँगीस्थित भुटानी शरणार्थी रेखदेखको प्रयोजनका लागि रहेको संरचनालाई पुननिर्माण गरेर आइसोलेसन सेन्टरका रुपमा स्थापना गर्न सम्भव भएको भन्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले खुशी व्यक्त गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आइसोलेसन सेन्टर निर्माणका अनुभवहरु समेत रोचक ढंगबाट सार्वजनिक गरेका छन ।
स्थानीय सरकारद्धारा निर्माण गरिएको दमक अस्पताल कोभिड उपचार केन्द्र बेलडाँगी नजिकै संक्रमण भएका तथा लक्षण चिन्ह देखिएका तथा रिपोर्ट प्राप्त नभइसकेका बिरामीहरुको समेत व्यवस्थापनका लागि सो आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
नगरपालिकाले यसैसाता कोरोना रोकथाम तथा नियन्त्रणका बिषयमा राखेको छलफलमा सो दमकमा अक्सिजनको सुविधासहित थप कोभिड उपचारका लागि सहकार्य गरेर अघि बढने गृहकार्य शुरु भएको थियो । सोही छलफल पश्चात शुरु भएको आइसोलेसन सेन्टर निर्माणको काममा लायन्सकर्मीहरु प्रत्यक्ष रुपमा श्रमदानमा जुटेका थिए भने यहाँका वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, दमक खानेपानी, होलसेल व्यवसायी संघ लगायतको सहयोग रहेको दमकका अर्का लायन लिडर ज्ञाननाथ पौडेलले नगरपालिकाको आव्हानमा कोरोना महामारी विरुद्ध एकजुट हुने प्रयास स्वरुप त्यहाँ लायन्सकर्मीहरु सेवाका भावना राखेर जुटेको बताए । त्यहाँको संरचना पुननिर्माण गरेर आवश्यक विजुली, पानी, बेड आदिको व्यवस्थापन गरि आइसोलेसन बेड तयार गरिएको उनले बताए ।
स्थानीय सरकारका तर्फबाट कोरोना महामारी विरुद्धको यो लडाइँमा देश विदेशमा रहने दमकबासीहरुले गरिरहेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिएकी गरेकी छिन ।
संक्रमण भएका तथा शंकास्पद विरामीहरुलाई क्वारेन्टाइन बेड, आइसोलेसन बेड र अस्पताल बेडमा आवश्यकता अनुसार राखिने नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।
उपप्रमुख अधिकारीले सामाजिक संघ संस्थाहरु तथा सबै सहयोगी दाताहरुको सहयोग लिएर नै कोरोना विरुद्ध अघि बढनु पर्ने अवस्था रहेको पनि जनाएकी छिन । उपप्रमुख अधिकारीले सबै संघसंस्था र सहयोगी दाताहरुलाई कोरोना विरुद्धको लडाइँमा एकजुट हुन आव्हान समेत गरेकी छिन ।
त्यसैगरी दमकमा रहेको आम्दा अस्पतालले झापा जिल्ला बाहिरका समेत संक्रमितहरुको उपचार सहज रुपमा गरिरहेको छ । सो अस्पतालमा शुक्रबार यो समाचार तयार पार्दा सम्म २८ जना, दमक अस्पताल कोभिड उपचार केन्द्रमा १९ जना, लाइफलाइनमा १९ जना र एडभान्स अस्पतालमा २२ जनासहित कूल ८८ जना संक्रमित उपचाररत रहेका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
