दमक/ इलामकी गर्भवती एक महिलाले झापाका विभिन्न अस्पतालमा उपचारका लागि चाहर्दा चाहर्दै ज्यान गुमाउनु परेको छ । माइ नगरपालिका वडा नं ८ की २२ बर्षिया महिलालाई शुक्रबार माइ नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजिटिभ आएपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा शुक्रबार बेलुकी ५ बजे ल्याइएकी ति महिलाको उपचार प्रकृया राती ९÷१० बजे सम्म शुरु हुन नसकेपछि विर्तामोडको मेडिका अस्पतालमा ल्याइएको थियो ।

ति महिलाको उपचारमा सहयोगका लागि गएका स्थानीय पर्शुराम बाँस्तोलाले ‘आइसियुमा राख्नका लागि बिएण्डसी अस्पतालमा सम्पर्क गर्दा सबै प्याक रहेछ । मनमोहनमा एउटा खाली रहेछ । तर कोभिडको संक्रमण भनेपछि लिन मानेनन्। अक्सिजन दिएर नै सबैतिर सम्पर्क गर्दा दमकमा एउटा बेड त पाइयो । तर बिरामीलाई मेडिकाबाट एम्बुलेन्समा हाल्न नपाउँदै मृत्यु भयो ।’
शनिबार ५ बजे मृत्यु भएकी महिलाको शव सोही राति ८ बजे घर पुरयाइएको छ ।
माइ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले ति महिलालाई आइसियुमा उपचार गर्नुपर्ने भएकाले मेची प्रादेशिक अस्पताल रिफर गरिएकोमा उनको मेडिका अस्पताल विर्तामोडमा मृत्यु भएको बताए । कोरोना संक्रमणबाट इलाममा अहिले सम्म इलाममा १४ जनाको ज्यान गइसकेको छ ।

Facebook Comments Box