दमक/दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न संघ संस्था तथा सहयोगी दाताहरुबाट अति आवश्यकीय उपकरणहरु धमाधम उपलब्ध हुने क्रम जारी छ । होटल व्यवसायी संघ दमकले हिजो ( सोमबार) संस्थागत रुपमा सो केन्द्रमा आइसियु बेड सञ्चालनका लागि आवश्यक पर्ने एक थान एयर कन्डिसनर ( एसी) मेसिन हस्तान्तरण गरे लगत्तै आज स्वतन्त्र राष्ट्रिय अभियान दमक कमिटीले पनि बिरामी ओसारपसार गर्न उपयोगी ट्रली हस्तान्तरण गरेको छ ।


होटल व्यवसायी संघ दमकका कार्यवहाक अध्यक्ष सुधिर प्रधान र सचिव मदन ढकालले कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारी र कोभिड अस्पताल व्यवस्थापन फोकल पर्सन देवी दंगाललाई सो एसी मेसिन हस्तान्तरण गरेका थिए । त्यसैगरी स्वतन्त्र राष्ट्रिय अभियान नेपाल दमक नगर कमिटीका तर्फबाट संयोजक दिपेन्द्र पौडेल। सहसंयोजक अम्बिका खुलाल र वडा नं ५ का संयोजक सुजन थपलियाले ट्रली हस्तान्तरण गरेका हुन ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले दमक, उर्लाबारी, गौरादह लगायतका ठाउँबाठ विभिन्न देशमा पुगेका नेपालीहरुको सहयोगमा ८५ हजार रुपैयाँ बराबरको सो सामग्री प्रदान गरेको हो । गौरादह–४ स्कुलचौन घर भई हाल मलेसियामा व्यवसाय संचालन गर्दै आएका जोरबारु एनआरएन क्षेत्रीय उपाध्यक्ष हरि बस्नेतले ३०,०००, उर्लाबारी–५ घर भई हाल अमेरिकामा अध्ययनरतसदिक्षा बास्तोलाले २००००, दमक–८ घर भई फ्रान्समा कार्यरत सन्देश गजमेरबाट रु.५,५५५ सहित विभिन्न एक दर्जनबढी सहयोगी दाताहरुबाट संकलित रकमबाट सो सहयोग प्रदान गरिएको हो । यस अघि दमक २ घर भई हाल कतारमा बस्दै आएकी सर्मिला धिमालले सो उपचार केन्द्रमा आवश्यक दुई थान अक्सिजन सिलिण्डर प्रदान गरेकी थिइन । सो केन्द्रमा विभिन्न दाताहरुले आवश्यकीय उपकरणहरुको सहयोग गरिरहेका छन भने लायन्स क्लब माउण्ट एभरेष्ट दमकले बिरामीहरुका लागि खानाको बन्दोबस्ती गरिरहेको छ ।
दमकको बेलडाँगीमा सञ्चालित सो कोभिड उपचार केन्द्रमा स्थानीय लायन्स क्लबहरु, दमक उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, होलसेल व्यवसायी संघ, सुनचाँदी ब्यवसायी संघ लगायतको संयुक्त प्रयासमा आइसोलेसन सेन्टर निर्माण समेत गरिएको छ ।

Facebook Comments Box