दमक/ झापाको दमक नगरपालिकाका झण्डै ७ सय जना कोरोना संक्रमण मुक्त भएका छन । गएको चैत्र २५ गते दमकमा कोरोना भाइरसको दोश्रो भेरियन्ट ( जसलाई विश्व स्वास्थ्य संगठनले डेल्टा नाम दिएको छ ) बाट संक्रमितहरु मध्ये कूल ६९७ जना संक्रमण मुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ति मध्ये ३१५ जना महिला छन ।
दमक क्षेत्रका अस्पतालहरुमा कोरोनाका ११६ जना बिरामी हाल उपचाररत रहेका पनि जनाइएको छ । घरमै आइसोलेसन बसेर उपचार गराईरहेकाहरुको संख्या भने ४२१ छ । होम आइसोलेसनमा रहेका मध्ये २२४ जना पुरुष छन । अन्य १९७ जना कोरोना संक्रमित महिला घरमै उपचाररत छन ।
नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार दमकको आम्दा अस्पतालमा रहेको कोभिड उपचार केन्द्रमा सबैभन्दा धेरै ३५ जना उपचाररत छन । त्यसपछि सरकारी स्वामित्वको कोभिड उपचार केन्द्र बेलडाँगीमा ३४ , लाइफलाइन अस्पतालमा २५ र एडभान्स अस्पतालमा २२ जनाले उपचार गराईरहेका छन ।
संक्रमणका कारण हाल सम्म दमकका १८ जनाको मृत्यु भएको छ । ति मध्ये ८ जना महिला छन ।
नगरपालिकाले दोश्रो भेरियन्ट शुरु भएयता कूल ८०८ जनाको पीसिआर परिक्षण निशुल्क गरिसकेको छ । नगरपालिकाले कन्ट्रयाक ट्रेसिङमा परेका, चिकित्सकहरुबाट सिफारिस गरिएका तथा लक्षण देखिएका दमकबासीहरुको हरेक आइतबार र बुधबार निशुल्क पीसिआर परिक्षणका लागि स्वाव संकलन गर्दै आएको छ ।