दमक/ दमकमा आज बिहिबार बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमक ८ की ७० बर्षिया बृद्धाको उपचारको क्रममा आज बिहान करिब ८ बजे मृत्यु भएको हो । यससंगै दमकमा कोरोनाको दोश्रो भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । दमकमा कोरोना रोकथामका लागि करिब तीन सातादेखि लगाइएको निषेधाज्ञाका बाबजुद अहिले ५१० जना सक्रिय संक्रमित छन । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले संक्रमणको शुरुवातमा नै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेर आवश्यक उपचार प्रकृयामा लाग्न आव्हान गरेकी छिन ।
दमकको बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संक्रमितहरुको उपचारका लागि व्यवस्था मिलाइएको र विरामीको अवस्था हेरी अन्य अस्पतालमा तोकिएका कोभिड उपचार केन्द्रमा समेत उपचार हुने भएकाले हेल्चेक्रयाइँ नगरी कोरोनाको लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गरि चिकित्सकहरुको सुझाव अनुसार उपचार गर्न नगरबासीलाई अपिल समेत गरेकी छिन ।