दमक/कोरोना संक्रमितहरुको शव व्यवस्थापनका लागि तालिम प्राप्त स्काउटरहरुले दमकमा पहिलो पटक आज ( आइतबार) शव व्यवस्थापन गरेका छन ।


नेपाल स्काउट १ नम्बर प्रदेश समितिका स्काउटरहरुले हिजो मृत्यु भएका दमक १ का कोरोना संक्रमित एक युवकको शव व्यवस्थापन गरेका हुन । संक्रमितको बिहान कन्काई नदीमा मृतक परिवारको संस्कार अनुसार अन्त्येष्टी गराउन नेपाल स्काउट प्रदेश नं १ अन्तर्गतको हिमालय रोभर रेन्जर स्काउट क्रिउका किरण, विमल र सविनसहितको टिम खटिएको टिम लिडर तथा नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले जानकारी दिए । यस अघि संक्रमितहरुको शव व्यवस्थावन तथा अन्त्येष्टीमा नेपाली सेनाको टोली खटिदैं आएको थियो ।

नेपाल स्काउटले हालै भद्रपुरमा सञ्चालन गरेको तालिममा नेपाली सेनाको टोलीबाट तालिम लिएका स्काउटरहरुले झापामा शव व्यवस्थापन गरेको यो दोश्रो हो भने माइपश्चिम क्षेत्रमा रहेको टोलीले पहिलो पटक यो शव व्यवस्थापन गरेको हो । झापाको माइपश्चिम क्षेत्रमा पर्ने दमक, कमल, गौरादह, शिवसताक्षी र गौरीगञ्जका कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्नका लागि सो टोली खटिएको बताइएको छ । दमकमा सो कार्यका लागि बसेको तीन जनाको टोली आज शव व्यवस्थापन गरेपछि कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ नआए सम्म आइसोलेसनमा बस्ने र स्काउटकै अर्को टिमले शव व्यवस्थापन गर्ने बताइएको छ । माइपश्चिम क्षेत्रमा संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि अन्यौलमा नपरि सोझै स्काउटका प्रदेश सदस्य तथा शव व्यवस्थापन टिमको नेतृत्व गर्दै आएका राम पौडेललाई सम्पर्क गर्न सकिनेछ ।

 

Facebook Comments Box