दमक/झापाका पालिकाहरुमा आज ६२ देखि ६४ बर्ष सम्मको उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको भ्याक्सिन ( भेरोसेल ) लगाउन शुरु भएको छ ।

दमक नगरपालिकामा बिहानदेखि शुरु भएको भ्याक्सिन लगाउने कार्यक्रममा विभिन्न वडाहरुबाट सर्वसाधारणहरु नगरपालिका कार्यालय पुगेका छन । नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार नगरमा यस पटक १ हजार ३ सय जनाका लागि कोरोना विरुद्धको पहिलो भ्याक्सिन लगाइँदैछ । करिब १० बर्ष अघिको तथ्याङक अनुसार दमकमा ६२ देखि ६४ बर्ष उमेर समुहका मानिसहरुको संख्या १ हजार ४ सय ७५ रहेको थियो । सोही तथ्याङकलाई आधार मानेर अहिले उपलब्ध १ हजार ३ सय डोज खोप लगाउने लक्ष्यसहित खोप लगाउन शुरु गरिएको बरालले बताए । उनका अनुसार खोप लगाउने कामका लागि नगरपालिकामा करिब १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रत्यक्ष रुपमा खटिएका छन ।
सरकारले तोकेको मापदण्ड भित्र रहेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट खोप लगाउने काम चलिरहेको बरालले बताए ।

सरकारले यस अघि ६० देखि ६५ बर्ष उमेर समुहका सबैलाई खोप लगाउने भनेपनि खोपको डोज पर्याप्त उपलब्ध नभएका कारण दोश्रो डोजको सुनिश्चितता गर्दै पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेर समुहका लागि पहिलो डोज लगाइएको हो । यसैगरी गौरीगञ्ज गाउँपालिकाका पनि विभिन्न वडामा रहेका स्वास्थ्य चौकीहरुमा कोरोना विरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार यस अघि ४१८ जनालाई पहिलो डोज भ्याक्सिन लगाइएकोमा आज उनीहरु मध्येका ६२ देखि ६४ बर्ष उमेर समुहका लाई मात्रै खोपको डोज उपलब्ध भएको हो । तत्काल एक सय डोज उपलब्ध भएकाले सरकारले तोकेको मापदण्ड भित्र रहेर एक सय जनालाई दोश्रो डोज लगाईँदैछ– वडाध्यक्ष राजवंशीले भने ।