दमक/झापाको गौरीगञ्ज गाउँपालिकामा आज ( बुधबार) कूल १३९ जनाले कोरोना भाइरस विरुद्धको खोप ( भेरोसेल) लगाएका छन । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गौरीगञ्जको १ नम्बर वडामा ३३ जनासहित गाउँपालिकाद्धारा तोकिएका स्वास्थ्य चौकीहरुमा आज ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई सो संख्यामा पहिलो मात्रा ( डोज) खोप लगाइएको हो ।
स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले सो गाउँपालिकामा सरकारले कूल ४९४ डोज भेरोसेल खोप उपलब्ध गराएको बताए ।
आज लगाई नसकिएका खोप भोली पनि लगाइनेछ– शाखा प्रमुख मिश्रले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने । सरकारले यस अघि ६० देखि ६५ बर्ष उमेर समुहका सबैलाई खोप लगाइने भनेपनि अन्तिम समयमा आएर खोपको मात्राको उपलब्धता र दोश्रो डोजको समेत सुनिश्चितताका लागि ६२, ६३ र ६४ बर्ष पुगेकालाई मात्रै यो खोप लगाउन सर्कुलर गरेका कारण सर्वसाधारणमा केही अन्यौल भएको थियो । गौरीगञ्ज गाउँपालिकामा यस अघि पहिलो डोज खोप लगाएकाहरुका लागि दोश्रो डोज खोप भने उपलब्ध भइसकेको छैन । सरकारले यस अघि कोभिसिल नामक खोप उपलब्ध गराएकाले सो खोप लगाइसकेकालाई दोश्रो डोज पनि सोही खोप लगाउनु पर्ने हुन्छ । पहिलो डोज खोप लगाएको १२ देखि १६ हप्ता भित्र दोश्रो डोज लगाउनु पर्ने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताउँदै आएका छन ।