झापामा एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल सँगसँगै, चङगा उडाउँदै भने “हेप्पी दशैं”

दमक/ बिधिवत रुपमा यस बर्षको दशैं शुरु भएको सातौं दिन बितिसकेको छ । आज महाष्टमी । चौतर्फी रुपमा दशैंलाई स्वागत गर्ने र दशैं मनाउने तयारीमा सर्वसाधारण जुटिसकेका छन ।

झापामा दशैंँसँगै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणसँग दशैं लक्षित शुभकामना आदनप्रदान, व्यक्तिगत भेटघाट र कुराकानीमा व्यस्त छन ।

दशैंमा सधैंका बर्षहरु जस्तै अध्यक्ष ओलीले यस बर्षपनि एमाले कार्यकर्ताहरुसँगै अन्य राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई पनि विर्तामोडमा औपचारिक कार्यक्रम गरि शुभकामना दिए ।

नवरात्रको छैठौं दिन षष्ठीमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापानमा सहभागी हुन अध्यक्ष ओलीसँगै पार्टी उपाध्यक्ष बिष्णु पौडेल पनि आएका छन ।

शुभकामना आदनप्रदानको मेसो मिलाएर अध्यक्ष ओली र उपाध्यक्ष पौडेलको झापामा सक्रिय उपस्थितीलाई एमाले राजनीतिमा महत्व र चासोसाथ हेरिएको स्वयं एमाले नेता, कार्यकर्ताहरुले बताउने गरेका छन ।

एमाले झापाका एक जना सक्रिय कार्यकर्ताले भनेका छन– “अध्यक्ष ओली त आफनो घर परिवार झापामै भएकाले र आफनै निर्वाचन क्षेत्र पनि झापामै पर्ने भएकाले यहाँ आउनु जानु र समय बिताउनुलाई स्वभाविक मान्न सकिन्छ तर दशैंको बेला बुटबल घर भएका बिष्णु पौडेल ओली सँगसँगै झापाका गाउँ –गाउँ सम्म भेटघाट र औपचारिक कार्यक्रममा निरन्तर सक्रिय हुनुले खास अर्थ र महत्व पक्कै राखेको छ ।” अध्यक्ष ओली र पौडेल जिल्लाका विभिन्न देहाती क्षेत्रमा पनि सँगै पुगेका छन ।

आइतबार पार्टीले गौरादह ५ मा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भएका ओली र पौडेलसँगै नेता अग्नी खरेल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेता हिक्मत कार्की लगायतका नेताहरु पनि सँगै थिए । ओली नेतृत्वको सो टोलीले गौरादह २ मा रहेको लाहा फैक्ट्री , गौरादह ७ को आदिवासी संग्राहालय निर्माणस्थल, गौरादह ८ को ड्रायगन फ्रुट र बयर खेती र गौरादह ९ बैगुन्धुरामा रहेको लाहाको खेती अवलोकन गरेका छन । त्यस्तै अध्यक्ष ओलीले हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज १ चौरीमा पर्ने कन्काई पूलको निर्माणाधिन अवस्था र दमकस्थित ग्रीन नेपाल नामक एक घरेलु उद्योगको पनि अवलोकन गरेका छन । एमाले झापा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीका अनुसार अध्यक्ष ओलीले आफनो निर्वाचन क्षेत्र विशेष अनुगमन तथा अवलोकन भ्रमण गरेका हुन ।

झापा बसाईका क्रममा अध्यक्ष ओलीको स्वागत सत्कारको रौनक र चर्चा सर्वसाधारण र कार्यकर्ताहरुमाझ यसपटक अघिल्ला पटकहरुमा भन्दा कम भएको देखिन्छ । यद्यपी अध्यक्ष ओलीले यसपटकको दशैंमा झापा आएर बालबालिकासँग दशैं स्मरण गर्दै रमाएका दृश्य र चङगा उडाएको दृश्य कैद भएको फोटो, भिडियो र ओलीसँग महिला बालबालिकाहरुले लिएको सेल्फीको चर्चा भने निक्कै छ । ओलीले बालबालिकासँग चङगा उडाउँदै हेप्पी दशैं भनेका छन ।

प्रदेश सभाको बैठकमा स्थगित भएपछि मुख्यमन्त्री कार्की बहिरै

विराटनगर/  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्ताव माथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेसभाको बैठक अझै सुरु भएको छैन ।

मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु भने प्रदेशसभाबाट बाहिरिएका छन् । मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि वैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने ।

मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि एमालेका प्रदेशसभा सदस्यहरुमा पनि अन्योल देखिएको छ । एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्री निस्कनुको कारण थाहा नभएको बताए । जवाफ तयार गर्न उहाँ निस्कनुभएको हुनुपर्ने उनको भनाई छ ।

आजको बैठकमा बोल्दै काँग्रेस, माओवादी र नेकपा एसले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए । १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ । प्रदेशसभाको आजकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ ।

स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले भोलीको समय माग गरेका थिए । सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ । एमालेका सांसद एकराज कार्कीले भने मत विभाजन हुने दाबी गरे ।

-हाम्रोमत बाट