झापामा एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल सँगसँगै, चङगा उडाउँदै भने “हेप्पी दशैं”

दमक/ बिधिवत रुपमा यस बर्षको दशैं शुरु भएको सातौं दिन बितिसकेको छ । आज महाष्टमी । चौतर्फी रुपमा दशैंलाई स्वागत गर्ने र दशैं मनाउने तयारीमा सर्वसाधारण जुटिसकेका छन ।

झापामा दशैंँसँगै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणसँग दशैं लक्षित शुभकामना आदनप्रदान, व्यक्तिगत भेटघाट र कुराकानीमा व्यस्त छन ।

दशैंमा सधैंका बर्षहरु जस्तै अध्यक्ष ओलीले यस बर्षपनि एमाले कार्यकर्ताहरुसँगै अन्य राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई पनि विर्तामोडमा औपचारिक कार्यक्रम गरि शुभकामना दिए ।

नवरात्रको छैठौं दिन षष्ठीमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापानमा सहभागी हुन अध्यक्ष ओलीसँगै पार्टी उपाध्यक्ष बिष्णु पौडेल पनि आएका छन ।

शुभकामना आदनप्रदानको मेसो मिलाएर अध्यक्ष ओली र उपाध्यक्ष पौडेलको झापामा सक्रिय उपस्थितीलाई एमाले राजनीतिमा महत्व र चासोसाथ हेरिएको स्वयं एमाले नेता, कार्यकर्ताहरुले बताउने गरेका छन ।

एमाले झापाका एक जना सक्रिय कार्यकर्ताले भनेका छन– “अध्यक्ष ओली त आफनो घर परिवार झापामै भएकाले र आफनै निर्वाचन क्षेत्र पनि झापामै पर्ने भएकाले यहाँ आउनु जानु र समय बिताउनुलाई स्वभाविक मान्न सकिन्छ तर दशैंको बेला बुटबल घर भएका बिष्णु पौडेल ओली सँगसँगै झापाका गाउँ –गाउँ सम्म भेटघाट र औपचारिक कार्यक्रममा निरन्तर सक्रिय हुनुले खास अर्थ र महत्व पक्कै राखेको छ ।” अध्यक्ष ओली र पौडेल जिल्लाका विभिन्न देहाती क्षेत्रमा पनि सँगै पुगेका छन ।

आइतबार पार्टीले गौरादह ५ मा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भएका ओली र पौडेलसँगै नेता अग्नी खरेल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेता हिक्मत कार्की लगायतका नेताहरु पनि सँगै थिए । ओली नेतृत्वको सो टोलीले गौरादह २ मा रहेको लाहा फैक्ट्री , गौरादह ७ को आदिवासी संग्राहालय निर्माणस्थल, गौरादह ८ को ड्रायगन फ्रुट र बयर खेती र गौरादह ९ बैगुन्धुरामा रहेको लाहाको खेती अवलोकन गरेका छन । त्यस्तै अध्यक्ष ओलीले हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज १ चौरीमा पर्ने कन्काई पूलको निर्माणाधिन अवस्था र दमकस्थित ग्रीन नेपाल नामक एक घरेलु उद्योगको पनि अवलोकन गरेका छन । एमाले झापा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीका अनुसार अध्यक्ष ओलीले आफनो निर्वाचन क्षेत्र विशेष अनुगमन तथा अवलोकन भ्रमण गरेका हुन ।

झापा बसाईका क्रममा अध्यक्ष ओलीको स्वागत सत्कारको रौनक र चर्चा सर्वसाधारण र कार्यकर्ताहरुमाझ यसपटक अघिल्ला पटकहरुमा भन्दा कम भएको देखिन्छ । यद्यपी अध्यक्ष ओलीले यसपटकको दशैंमा झापा आएर बालबालिकासँग दशैं स्मरण गर्दै रमाएका दृश्य र चङगा उडाएको दृश्य कैद भएको फोटो, भिडियो र ओलीसँग महिला बालबालिकाहरुले लिएको सेल्फीको चर्चा भने निक्कै छ । ओलीले बालबालिकासँग चङगा उडाउँदै हेप्पी दशैं भनेका छन ।

झापाका तीन ठाउँमा रास्वपाको जनसभा

दमक/  राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एकैदिन झापाका ठुला मध्येका तीन शहरमा बृहत जनसहभागितामा सभा सम्पन्न गरेको छ ।

दमक, गौरादह र विर्तामोडमा एकैदिन आयोजना गरेको जनसभालाई पार्टी सभापति रवि लामिछानेसहित महामन्त्री मुकुन्द ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित आधा दर्जन बढी केन्द्रिय नेताहरुले सम्बोधन गरेका छन । दमकमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यो अवस्थामा ल्याउन एक बर्ष अघि मात्रै स्थापना भएको आफनो पार्टीको कुनै दोष नभएको जिकिर गर्दै लामो समयदेखि राजकाज चलाएका ठुला भनिएका दलहरुको अकर्मण्यता यसको मुख्य कारण भएको तर्क गरे ।

मुलुकमा भइरहेको बिकास र समृद्धिमा अन्य दलहरुको योगदानबारे खासै नबोलेका सभापति लामिछानेले भ्रष्टचार, अनियमितता र देशको गिर्दो आर्थिक अवस्था लगायत सम्पूर्ण जिम्म अन्य ठुला दलहरुले लिनुपर्ने जिकिर गरे ।

दमकमा सभा चलिरहँदा पानी पर्न थालेपछि लामिछानेले आफनो सम्बोधनका क्रममा आँधीहुरी र बर्षाबाट प्रभावित र विचलित नहुने भन्दै सहभागीहरुलाई भने–यहाँ पानी पर्न सक्छ, आँधीहुरी आउन सक्छ रुझ्दै भिज्दै पनि भ्रष्टाचारीहरुलाई लखेटनु परेको छ ।
त्यसैगरी गौरादह बजारमा आयोजना गरेको सभालाई पनि सभापति लामिछाने, महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार लगायतले सम्बोधन गरेका थिए । त्यसअघि विर्तामोडमा पनि रास्वपाले व्यापक जनहभागितामा पार्टीको सभा सम्पन्न गरेको थियो ।