सुनील पौडेललाई नौ बर्ष कैद

काठमाडौँ/ विशेष अदालतले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ।

पौडेललाई अदालतले बिगो, जरिवाना र कैद हुने फैसला सुनाएको हो। विशेष अदालतबाट वैशाख ७ गते भ्रष्टचार मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण हुन बाँकी थियो।

मंगलबार विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने ठहर गरेको छ । अब उनीबाट करिब ४६ करोड ५४ लाख रुपैयाँ असुल गरिनेछ ।

पौडेलविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दामा भने फैसला हुन बाँकी छ।

आज तमु ल्होसार : गुरुङ्ग समूदायको नयाँ वर्ष

गुरुङ्ग समूदायको नयाँ वर्ष

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि-ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

यो वर्ष चाँही गिद्ध (मि-ल्हो) को वर्ष रहने

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गिद्ध (मि-ल्हो) बर्ग रहनेछ । हरेक वर्षझैं यस वर्ष पनि गिद्ध (मि-ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।

विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति/धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

बहादुरी र तमु समुदाय

विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।

मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदार्इ गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ‘ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ‘ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो-हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।

छागंकोल

प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ, हैन र ? जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ ।

स्यो कैँ

स्यो कैँ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको परिकार हो जस्मा एउटा मात्र खाना नभईकन बिभिन्न प्रकारका खानाहरु तर समुहमा पैसा उठाएर बनाउने चलन हुन्छ । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । स्यो कैँ को अर्थ नेपाली संगै बसेर खानु भन्ने लाग्दछ । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो । यी बाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।

किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! “हे! तमु मै तमु ल्होसार खै मु … रमाइलो तमु ल्होसार !”

स्मरण रहोस् आजको यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।

काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।

आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएको हामीमध्ये सबैले देखेका छौ । आज यसरी झुण्ड्याइने यस्ता झण्डा अनि त्यसमा कूदिएका मन्त्रहरु लगायत ति झण्डालाई फर्रर हल्लाउने हिमाली वतासहरुले हामी सबैको वर्षभरि कल्याण गरुन् ।

देश विदेशमा रहनुभएका सम्पूर्ण तमु दाजुभाई तथा दिदिवहिनीहरुलाई आज हाम्रो पात्रोले न्यानो सम्झना सहितको शुभकामना व्यक्त गर्दछ । तमु ल्होसारको शुभकामना ।

-हाम्रो पात्रो

पौड्याल बन्धुहरुको सामुदायिक भवनसँगै महायज्ञ उदघाटन गरिने

दमक/ झापाको दमक-७ बराह टोल स्थित लेखनाथ मार्गमा निर्माण गरिएको पौड्याल बन्धुहरुको सामुदायिक भवन उदघाटन तथा महायज्ञको तयारी गरिएको छ ।

पौड्याल वंशोद्धार केन्द्रिय समितिको आयोजनामा यही मसिंर २७ गते भवनसँगै सप्ताहव्यापी श्रीमद भागवत बराह महापुराणका सप्ताह ज्ञान महायज्ञको समेत उदघाटन गरिने भएको हो ।

मसिंर २३ देखि २५ गते सम्म बराह भगवानको मूर्ति अनावरण गरिनुका साथै प्राण प्रतिष्ठा अनुष्ठान सञ्चालन हुने र २७ गतेदेखि श्रीमदभागवत महायज्ञ शुरु हुने मूल आयोजक समितिका संयोजक लोकनाथ पौड्यालले जानकारी दिए ।

२७ गते बिहान १० बजे कलश यात्रा निकालिने र दिउँसो १ बजे नवनिर्मित पौड्याल वंशोद्धार सामुदायिक भवनको उदघाटन गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

महायज्ञमा आचार्य पण्डीत शान्तिराम नेपाल प्रमुख कथावाचकका रुपमा रहनेछन भने उपवाचकका रुपमा अग्नीप्रसाद पौड्याल र लक्ष्मीप्रसाद पौड्याल रहनेछन । महायज्ञ सम्पन्न गर्न लोकनाथ पौड्यालको संयोजकत्वमा पुराण आयोजक मूल समिति गठन गरि काम अघि बढाइएको छ भने सहसंयोजकमा प्रल्हादकुमार पौड्याल रहेका छन । कलश यात्रा संयोजकको जिम्मेवारी रामकुमारी पौड्याललाई दिइएको छ भने पूजा व्यवस्थापन समिति संयोजकको जिम्मेवारी पार्वता पौडेललाई दिइएको जनाइएको छ ।

कमल गाउँपालिकाका बिद्यालयभित्र राजनीतिक कार्यक्रम गर्न नपाइने

कमल/ झापाको कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा राजनीतिक दलसंग सम्बन्धित कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

पालिकाको शिक्षा समितिको आज सम्पन्न बैठकले विद्यालय हाता भित्र राजनीतिक दलका गतिविधिमा निषेध लगायत विभिन्न शैक्षिक विषयमा छ बुँदे निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार निर्माण तथा मर्मततर्फ सिसी क्यामेरा जडान,सबै बिद्यालयमा एकैखालको रङरोगन,शौचालय निर्माण तथा मर्मत,छानो मर्मत तथा कक्षा कोठा मर्मत लगायतको लागि बिनियोजन भएको बजेट प्राथमिकरण गरि प्राबिधिक लागत अनुमान प्रतिवेदन पेश गर्ने , बिद्यालयको बिद्युत तथा खानेपानीको सामान्य मर्मत गर्न लाग्ने खर्चलाई मितव्यायी बनाउन बिद्यालय कर्मचारीहरुलाइ आधारभुत तालिम दिने उल्लेख छ ।

यसैगरि, आधारभुत तह र माध्यमिक तहका लागि दुईजना घुम्ती नृत्य प्रशिक्षकको छनौट गर्ने, मदन आश्रित क्याम्पसका लागि शिक्षक व्यवस्थापन अनुदान निरन्तरता दिन कार्यपालिकालाई अनुरोध गर्ने र नीजि बिद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको उल्लेख छ । यसअघि गत बैशाखमा काठमाडौं महानगरले महानगर भित्रका बिद्यालयमा राजनीतिक कार्यक्रमहरुमाथी प्रतिबन्ध लगाउँदै सो निर्देशन पालना नगर्ने नगराउनेमाथी कारवाहीको निर्देशन समेत दिएको थियो ।

वडाध्यक्षले अन्याय गरेको भन्दै सडकमै पत्रकार सम्मेलन

दमक/ दमक १ मा दुई बर्ष अघि स्थापना भएको एक उद्योगको व्यवसाय दर्ता दिन सम्बन्धित वडाध्यक्ष हरिप्रसाद न्यौपानेले आनाकानी गरेर अन्याय गरेको भन्दै उद्यमी बिन्दु सिटौलाले सडकमै पत्रकार सम्मेलन गरेकी छिन । उनले पहिला पहिला न्याय नपाए गोरखा जानु भन्ने उखान अहिले आएर न्याय नपाए पत्रकारकोमा जानु भन्ने अवस्था सिर्जना भएकाले आफूमाथिको अन्यायबारे जानकारी गराउँदै न्यायका लागि पहल गरिदिन अपिल गरेकी हुन । सिटौलाले दमक नगरपालिकाको प्रवेशद्धारकै सडकमा सोमबार पत्रकार सम्मेलन गरेकी हुन् ।

उनले आफनो निजी स्वामित्वको १० कठठा जग्गामा एक करोड बढीको लगानीमा ब्लक तथा इटा उद्योग उत्पादन गर्ने कम्पनी ईको नेपाल ईन्फ्रास्टक्चर नामक कम्पनी स्थापना गरेर वडामा व्यवसाय दर्ता गर्न जाँदा वडा अध्यक्ष हरि न्यौपानेले दर्ता नगरेर अन्याय गरेको जिकिर गरिन् । सिटौलाले आफुले उद्योग दर्ताका लागि वडा कार्यालयदेखी नगरपालिका सम्म पटक पटक धाउँदा पनि सबै तिरबाट आस्वासन मात्रै पाएको तर काम नभएको गुनासो गरे । २०७३ सालबाट सो जग्गा आफ्नो नाममा ल्याएर हरेक बर्ष राजस्व बुझाउँदै आएको भए पनि अहिले उद्योग दर्ता गर्न खोज्दा वडा अध्यक्षले सो असहयोग गरेको सिटौलाले बताइन ।

अहिले वडाध्यक्ष न्यौपानेको आदेशमा आफ्नो उक्त जग्गाको विवरण वडाको करदाता लिष्टबाटै हटाईएको पाईएको भन्दै सिटौलाले वडा अध्यक्षले आफनो अधिकारबाहिर गएर करदाताको लिस्टबाट आफनो नाम हटाएर कानुन विपरितको काम गरेको आरोप लगाइन । वडा अध्यक्ष न्यौपानेले अधिकार क्षेत्र बाहिर गएर आफ्नो नम्बरी जग्गालाई ऐलानी घोषणा गरेको सिटौलाको आरोप छ । आफ्नो नम्बरी जग्गालाई कुन आधारमा वडाध्यक्षले ऐलानी घोषणा गरेको हो ? भन्दै सिटौलाले साँध सिमानाका सबै जग्गा दमकको नम्बरी हुने अनि आफ्नो मात्रै ऐलानी कसरी हुन्छ भन्दै प्रश्न गरिन ।

यसैबीच वडा अध्यक्ष न्यौपानेले भने सो जग्गा साविक मधुमल्ला ६ () मा पर्ने श्रेस्ता उल्लेख रहेको बताउँदै सो भुभाग दमकको नभई कमल गाउँपालिकामा पर्ने भएकाले त्यस सम्बन्धिको समस्या सम्बन्धित निकायबाटै टुंग्याएपछि मात्रै दमक १ ले सो उद्योगको व्यवसाय दर्ता गर्न सक्ने बताए । सबै प्रकृया पुरा गरेर आएको काममा आफूले कुनै किसिमको असहयोग नगरेको उनको जिकिर छ । सो बिषयमा मालपोत र नापी कार्यालयमा बुझ्दा पनि दमकमै पर्ने र नम्बरीनै हो भन्ने प्रमाण नपाएकोले समस्या भएको न्यौपानेले बताए । त्यसैगरी सो ठाउँमा सिटौलाले उद्योग स्थापना गर्दा संधियारहरु संग पनि सहमति नलिएको र संधियारहरुबाटै उजुरी आएकाले पनि दर्ता गर्न समस्या भएको उनले तर्क गरे ।

महासमिति सदस्यमा यसकारण केरुङको उम्मेदवारी

झापा/ कांग्रेस झापा यतिबेला महासमिति सदस्य निर्वाचनको संग्राममा छ । झापाको क्षेत्र नं ५ मा उसैपनि धेरै कारणले महासमिति निर्वाचनको विशेष चर्चामा छन ।

पात्रहरु अलग अलग विशेषता र कारणले चर्चामा छन । महासमिति सदस्यको भुमिका पार्टीको नीति निर्माण तहमा हुने गर्छ त्यसकारण पनि महासमिति सदस्यहरु चुन्ने यो निर्वाचन महत्वपूर्ण छ ।

यस पटकको उम्मेदवारहरु मध्ये युवा नेता अइन्द्रविक्रम केरुङ महासमिति सदस्यका लागि तोकिएको आदिवासी जनजाति कोटाबाट उम्मेदवार बनेका छन ।

केरुङका पार्टीमा नयाँ उर्जा र कांग्रेसमा पुनः जागरणका लागि आफनो उम्मेदवारी रहेको बताए । दमकलाई कर्मथलो बनाएर राजनीतिमा सक्रिय नेता केरुङको राजनीतिक पृष्ठभुमि नेविसंघ हो । बिद्यार्थी राजनीतिमा सक्रिय हुँदा उनले नेविसंघमा बिद्यार्थीहरुलाई आवद्ध गराई लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर भुमिका निर्वाह गरे ।

नेविसंघको नेतृत्व गर्दै दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेदवारी दिएका उनी नेविसंघको झण्डा फहराउन सफल भएका नेता हुन । उनी सो क्याम्पसको स्ववियुमा नेविसंघको जित गराउने पहिलो नेता हुन ।

दमक १ का स्थायीबासिन्दा नेता केरुङका  पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा १३ औं र १४ औं महाधिवेशनमा (दुई पटक) निर्वाचित भएपछि यसपटक महासमिति सदस्यका लागि आफनो योग्यता पुगेको र महासमितिमा युवा सहभागिताका लागि पनि आफनो उपस्थिती आवश्यक भएको बताउँछन ।

सालिन र सरल स्वभावले उनलाई कार्यकर्ताहरुमाझ लोकप्रिय व्यक्तित्वका रुपमा परिचित गराएको छ । नेपाली राजनीतिमा कांग्रेसको भुमिका सशक्त बनाउन पार्टीमा युवा पुस्ताको उदय भइसकेकोले आफनो उम्मेदवारी त्यसैको परिणामका रुपमा रहेको केरुङको तर्क छ । पार्टीमा पाकाहरुको आशिर्वाद र युवाहरुको साथ आवश्यक भएको बताउँदै युवा नेता केरुङ भन्छन –”अव युवाको भुमिका हस्तक्षेपकारी हुनुपर्छ । मेरो उम्मेदवारी त्यसैका लागि हो “।

कांग्रेसको महासमिति चुनाव, आकांक्षीहरु धेरै भएपछि मतदानमा जाँदै

दमक/ झापा ५ मा नेपाली कांग्रेसको महासमिति सदस्य चुन्ने प्रकृया अन्तर्गतको चुनावी कार्यक्रम भोली २२ कार्तिकमा शुरु हुँदैछ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि भोली बुधबारदेखि दमकस्थित सरस्वती मावि परिसरमा निर्वाचन कार्यक्रम हुँदैछ ।

निर्वाचन अन्तर्गत मतदाता नामावली प्रकाशन, मनोनयन दर्तादेखि दाबी बिरोध पेश गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्म बुधबारनै सकिने र बिहिबार बिहान मतदानको कार्यक्रम रहनेछ । निर्वाचन सम्पन्न गर्न बब्रुवन दाहालको संयोजकत्वमा निर्वाचन समितिले जिम्मेवारी पाएर कार्य शुरु गरिसकेको छ ।

यसअघि महासमिति सदस्य चुन्नका लागि गरिएका प्रयत्नहरु सफल हुन नसकेपछि नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिने भएकाले मतदानको तयारी थालिएको हो ।

आइतबार दमकस्थित पार्टी कार्यालयमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुबीच सहमतिका लागि पार्टीको क्षेत्रीय नेतृत्वको पहलमा पालिकास्तरका सभापतिहरुको सक्रियतामा उम्मेदवारका आकांक्षीहरुबीच सामुहिक र अलग अलग भएका छलफलमा अधिकतम उम्मेदवारहरुबीच समझदारी नहुँदा चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।

खुल्ला तर्फ पाँच जना महासमिति सदस्य चुन्नका लागि हुने निर्वाचनको मैदानमा १४ जना आकांक्षीहरु देखिएका छन ।

आवश्यक संख्या भन्दा झण्डै तेब्बर बढी उम्मेदवारको संख्या भएकाले यसमा मतदान हुने सम्भावना बढेको हो । यद्यपी उम्मेदवारहरुले आफनो मनोनयन दर्ता सम्म पनि सहमतिका लागि प्रयासहरु जारी रहने उल्लेख गरेका छन ।

त्यस्तै खुल्ला महिला तर्फ दुई जना चुनिनुपर्नेमा अहिले सम्म तीन जना आकांक्षीहरु देखिएका छन । त्यस्तै आदिवासी जनजाती कोटा ( पुरुष तर्फ) एकका लागि दुई जना, आदिवासी जनजाती महिला कोटामा एकका लागि दुई जना, खसआर्यमा एकका लागि दुई जना र खसआर्य महिला एकका लागि दुई जना उम्मेदवार देखिएका छन ।

कांग्रेस झापा ५ का सभापति ढुण्डीराज भण्डारीले सहमतीमा महासमिति सदस्य चयनका लागि अधिकतम प्रयास भएपनि लगभग सहमतीको सम्भावना क्षीण बन्दै गएको उल्लेख गरे । भण्डारीले आफू समेत महासमितिको चुनावमा जान चाहेपनि क्षेत्रमा सर्वसम्मत रुपमा महासमिति सदस्य चुन्ने प्रयासमा सघाउँदै आफनो उम्मेदवारीबाट ब्याक भएको बताए ।

यसपटकको महासमिति सदस्यको निर्वाचनमा केही विशेषताहरु पनि देखिएका छन । कसैले यो निर्वाचनलाई कार्यकर्ताहरुमाझ आफनो वेट (क्षमता) देखाउने अवसरका रुपमा लिँदैछन । कांग्रेस राजनीतिमा यसैपटक (१४ औं अधिवेशन) बाट देखिएकाहरु पनि महासमितिको चुनावी प्रतिस्पर्धामा छन ।

जनताको मत पार्टीमा अनुमोदन गर्ने प्रयास

महासमिति सदस्यको यसपटकको निर्वाचन मैदानमा यसपटक केही जननिर्वाचित जनप्रतिनिधिहरु पनि देखिएका छन ।

एमालेको लालकिल्ला मानिने झापाको क्षेत्र नं ५ को भुगोलमा २०७४ र २०७९ मा एमालेको किल्ला तोडने कांग्रेसको लक्ष्य पूरा गरेका पाँच जना उम्मेदवारहरु यो महासमिति निर्वाचनमा चुनावी मैदानमा उत्रिँदैछन । यसलाई जनताको मत पार्टीमा अनुमोदन गर्नुपर्ने दबाबका रुपमा पनि लिइएको छ ।

गौरादह नगरपालिकाका निवर्तमान नगर प्रमुख रोहितकुमार साह, कमल गाउँपालिकाका वर्तमान अध्यक्ष हुकुमसिंह राई, दमक नगरपालिकाकी वर्तमान उपप्रमुख रेगिना भट्टराई , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र गौरादह २ का निर्वतमान वडाध्यक्ष हेमन्त कार्कीको दाबेदारीलाई पनि विशेष महत्वसाथ हेरिएको छ ।

उनीहरु मध्ये नेता साह, राई र कार्कीले खुल्ला तर्फबाट चुनिने पाँच जना भित्र आफनो दाबी पेश गरेका हुन भने नेतृ भट्टराईले खुल्ला महिला सदस्य र नेतृ राजवंशीले आदिवासी जनजाती महिला कोटाबाट उम्मेदवारीको दाबी गर्दै आएका छन ।

यो निर्वाचन जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले पाएको मतलाई पार्टीभित्र अनुमोदन गर्ने क्षण भएकाले पनि उनीहरुको दाबेदारीलाई विशेष चासो र महत्वसाथ हेरिएको छ ।

केन्द्रीय निर्वाचनको सामना गरेका चार नेता

पार्टीको १४ औं महाधिवेशनमा यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु दुई दर्जनले भाग लिएका थिए । ति मध्ये चार जनाले केन्द्रीय निर्वाचनको सामना गरे ।

केन्द्रिय निर्वाचन लडेका नेताहरु सुरेश सुब्बा, सत्यनाराण चौधरी, मेदनी सिटौला र अनिलकृष्ण प्रसाइँ केन्द्रिय समिति सदस्यमा चुनिन भने सकेनन । हाल महासमिति सदस्यको प्रतिस्पर्धामा रहेका उनीहरु केन्द्रिय निर्वाचनको सामना गरेका नेता भएका कारण विशेष चर्चामा छन ।

दुई मध्ये एक रोज्नुपर्ने अवस्था

खुल्ला तर्फ १४ मध्ये पाँच जना रोज्नुपर्ने सहज अवस्था रहेको महासमिति सदस्यको निर्वाचनमा यो क्षेत्रमा अन्य आरक्षित कोटाहरुमा भने त्यो सहजता छैन ।

पार्टी विधान अनुसार तोकिएका आदिवासी जनजाती पुरुष र महिला एक/एक कोटामा दुई/दुई जना उम्मेदवार बन्दैछन । आदिवासी जनजाती कोटा ( पुरुष तर्फ) अइन्द्र केरुङ र भुमी राईको दाबी छ भने आदिवासी जनजाती महिला कोटामा फुलवती राजवंशी र रमा लिम्बुले आआफनो दाबी अघि सारेर चुनावी मैदानमा छन । खसआर्य पुरुष तर्फ डा. नेत्रबहादुर बुढाथोकी र बिक्रम अधिकारीले इच्छा देखाइरहेका छन भने खसआर्य महिला तर्फ मन्दरा चिमरिया पौडेल र तुलसा पन्तले दाबी पेश गरिरहेका छन ।

महिलामा दुईका लागि तीन प्रतिस्पर्धी

आधिकारिक रुपमा मनोनयन दर्ताको समय भई नसकेपनि पूर्व तयारीलाई हेर्दा महिला खुल्ला तर्फ दुई जनाका लागि तीन जनाको उम्मेदवारी पर्ने सम्भावना देखिएको छ ।

अहिले सम्म महिला खुल्ला तर्फ दाबी पेश गरेका नेतृहरुमा रेगिना भट्टराई प्रसाइँ, लक्ष्मी बारकोटी र चन्द्रा खडका भट्टराई रहेका छन । उनीहरु मध्ये दुई जनालाई रोज्न पाउने सुविधा प्रतिनिधि (मतदाता)लाई हुनेछ ।

प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति

भद्रपुर/ झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ ।

आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको छ ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । प्रतियोगिताका लागि रंगशाला सम्याउने, झार काट्ने तथा घाँस हुर्काउने काम भइरहेको छ ।

झापामा एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल सँगसँगै, चङगा उडाउँदै भने “हेप्पी दशैं”

दमक/ बिधिवत रुपमा यस बर्षको दशैं शुरु भएको सातौं दिन बितिसकेको छ । आज महाष्टमी । चौतर्फी रुपमा दशैंलाई स्वागत गर्ने र दशैं मनाउने तयारीमा सर्वसाधारण जुटिसकेका छन ।

झापामा दशैंँसँगै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणसँग दशैं लक्षित शुभकामना आदनप्रदान, व्यक्तिगत भेटघाट र कुराकानीमा व्यस्त छन ।

दशैंमा सधैंका बर्षहरु जस्तै अध्यक्ष ओलीले यस बर्षपनि एमाले कार्यकर्ताहरुसँगै अन्य राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई पनि विर्तामोडमा औपचारिक कार्यक्रम गरि शुभकामना दिए ।

नवरात्रको छैठौं दिन षष्ठीमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापानमा सहभागी हुन अध्यक्ष ओलीसँगै पार्टी उपाध्यक्ष बिष्णु पौडेल पनि आएका छन ।

शुभकामना आदनप्रदानको मेसो मिलाएर अध्यक्ष ओली र उपाध्यक्ष पौडेलको झापामा सक्रिय उपस्थितीलाई एमाले राजनीतिमा महत्व र चासोसाथ हेरिएको स्वयं एमाले नेता, कार्यकर्ताहरुले बताउने गरेका छन ।

एमाले झापाका एक जना सक्रिय कार्यकर्ताले भनेका छन– “अध्यक्ष ओली त आफनो घर परिवार झापामै भएकाले र आफनै निर्वाचन क्षेत्र पनि झापामै पर्ने भएकाले यहाँ आउनु जानु र समय बिताउनुलाई स्वभाविक मान्न सकिन्छ तर दशैंको बेला बुटबल घर भएका बिष्णु पौडेल ओली सँगसँगै झापाका गाउँ –गाउँ सम्म भेटघाट र औपचारिक कार्यक्रममा निरन्तर सक्रिय हुनुले खास अर्थ र महत्व पक्कै राखेको छ ।” अध्यक्ष ओली र पौडेल जिल्लाका विभिन्न देहाती क्षेत्रमा पनि सँगै पुगेका छन ।

आइतबार पार्टीले गौरादह ५ मा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भएका ओली र पौडेलसँगै नेता अग्नी खरेल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेता हिक्मत कार्की लगायतका नेताहरु पनि सँगै थिए । ओली नेतृत्वको सो टोलीले गौरादह २ मा रहेको लाहा फैक्ट्री , गौरादह ७ को आदिवासी संग्राहालय निर्माणस्थल, गौरादह ८ को ड्रायगन फ्रुट र बयर खेती र गौरादह ९ बैगुन्धुरामा रहेको लाहाको खेती अवलोकन गरेका छन । त्यस्तै अध्यक्ष ओलीले हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज १ चौरीमा पर्ने कन्काई पूलको निर्माणाधिन अवस्था र दमकस्थित ग्रीन नेपाल नामक एक घरेलु उद्योगको पनि अवलोकन गरेका छन । एमाले झापा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीका अनुसार अध्यक्ष ओलीले आफनो निर्वाचन क्षेत्र विशेष अनुगमन तथा अवलोकन भ्रमण गरेका हुन ।

झापा बसाईका क्रममा अध्यक्ष ओलीको स्वागत सत्कारको रौनक र चर्चा सर्वसाधारण र कार्यकर्ताहरुमाझ यसपटक अघिल्ला पटकहरुमा भन्दा कम भएको देखिन्छ । यद्यपी अध्यक्ष ओलीले यसपटकको दशैंमा झापा आएर बालबालिकासँग दशैं स्मरण गर्दै रमाएका दृश्य र चङगा उडाएको दृश्य कैद भएको फोटो, भिडियो र ओलीसँग महिला बालबालिकाहरुले लिएको सेल्फीको चर्चा भने निक्कै छ । ओलीले बालबालिकासँग चङगा उडाउँदै हेप्पी दशैं भनेका छन ।

एनआरएनएको अध्यक्षमा डा. केसी विजयी, पराजितले स्वीकारेनन्

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १ हजार ३७८, शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ ।

महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताए । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने, ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठको माग छ ।

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाई छ ।

काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो ।