आज अन्तर्राष्ट्रिय खुसी दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी  मनाइँदै छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने सुरू गरिएको हो । खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो।

सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो। यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ । दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ।

प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ । यो गएको वर्षको तुलनामा ३ स्थान माथि हो। गएको वर्ष ५ दशमलव २६९ अङ्कसहित नेपाल सूचीको ८७औँ स्थानमा थियो। प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपालपछि खुसी हुने देशमा बङ्गलादेश परेको छ।

सूचीअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो। फिनल्यान्ड लगातार ५ वर्षदेखि सूचीको शीर्षस्थानमा रहँदै आएको छ। यस्तै, डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन्।

Facebook Comments Box