दमक/ झापाको झापा गाउँपालिका वडा नं ७ का ३८ बर्षिय एक युवकले दाताहरुको सहयोगमा उपचारपछि पुनर्जिवन पाएका छन ।
दैनिक ज्यालादारीमा कृषि कर्म गरेर जिविकोपार्जन गर्दै आएका ३८ बर्षिय राजकुमार गणेशले सोही ठाउँ घर भई हाल दमकमा बस्दै आएका सामाजिक अभियान्ता काजी राउतको नेतृत्वमा जुटेको आर्थिक तथा प्राविधिक सहयोगको भरमा पुनर्जिवन पाएका हुन ।
राउतकै पहलमा कन्काई हस्पिटलले क्यान्सरको उच्च जोखिममा पुगेका राजकुमारको घँुडामा पलाएको ट्युमरको अप्रेशनमा विशेष सहुलियत प्रदान गरेपछि राजकुमार र उनको परिवारमा खुशी छाएको छ । बिरामीकी आमा सुबकला गणेशले छोराको उपचारले छोराको मात्रै नभएर आफनो जिवनमै ठुलो खुशी मिलेको बताइन् ।
१८ महिनादेखि टयूमरको अप्रेशन गर्नुपर्ने भएपनि आर्थिक अभावमा रोग पालेर बस्न बाध्य राजकुमारको उपचारका लागि सामाजिक अभियान्ता राउतले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक अपिल गरेका थिए । राउतको त्यस्तो अपिल पछि गाउँबाट प्रवासमा पुगेका युवाहरुले समेत चासो राखेर त्यहाँबाट यथाशक्य सहयोग गरेका थिए भने स्वदेशमै पनि दाताहरुले स्वैच्छिक रुपमा सहयोगी हात अघि बढाएका थिए ।
राजकुमारको उपचार सहयोगमा नेतृत्वदायी भुमिका निर्वाह गरेका राउतले भने– पैसा नभएकै कारण राजकुमारको उपचारका लागि हामी अस्पतालहरुमा अनुनय विनय गर्दै धायौं, अन्तत कन्काई हस्पिटलका डाक्टर प्रेम बहादुर शाहीले टयूमर फयाँक्न ढिलो हुँदा क्यान्सरको जोखिम हुन्छ उपचार चाहिं गर्दै गरौं आर्थिक बिषयमा विस्तारै सरसल्लाह गरौला भनेपछि नै हामीलाई हिम्मत पलायो ।
उनका अनुसार पुस १७ गते हस्पिटलमा भर्ना भएका गणेशको घुँडाको ट्युमरको शल्यक्रिया भइसकेको छ भने ६ हप्तापछि उनको शरिरको कुनै अंग काटेर घुडामा लगाएर हिडडुल गर्न सक्ने उपचारमा संलग्न अर्थाेपेडिक्स सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिए । राउतको संयोजकत्वमा ‘राजकुमार गणेश बचाउ अभियान’ सञ्चालन गरी करिव २ लाख रुपैयाँ आर्थिक संकलन गरी अस्पतालमा बिरामी राजकुमारका लागि सहयोग गरिएको संयोजक राउतले जानकारी दिए ।
संयोजक राउतले कनकाई हस्पिटलले निःशुल्क शल्यक्रिया र औषधीमा सहुलियत दिएकोमा धन्यवाद दिए । अभियानका सदस्य सुभास डाँगी र टहलदास ओलीले हस्पिटलले न्यूनतम खर्चमा शल्यक्रिया गरि सेवा पुरयाएको भन्दै अस्पताललाई धन्यवाद व्यक्त गरेका छन । हस्पिटलका प्रबन्ध निर्देशक युवराज डाँगी र सञ्चालक खेमराज बाँनियाले हस्पिटलले सामाजिक उत्तरदायित्व र मानवताका आधारमा उपचार सहुलियतमा गरेको जानकारी दिए ।
