झापा/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ झापाले शुक्रबार दमकमा बृहत तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्य र संघकी झापा जिल्ला अध्यक्ष लीला ढुंगेल दाहालको अध्यक्षतामा भएको कार्यक्रमा कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले अखिल नेपाल महिला संघ नेपाली महिलाहरुको अग्रणी संगठन रहेको बताउनु भयो ।
उहाँले नेकपा एमालेको दर्विलो संगठन मध्येको अनेमसंघ रहेको भन्दै आगामी २०८४ को निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बनाउने गरि सशक्त भएर काम गर्न महिला नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला ईन्चार्ज रोमनाथ ओलीले पछिल्लो समय महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई भड्किलो बनाउँदै लगेको भन्दै यसलाई नेपाली सांस्कृतिक परम्परा अनुसारनै मनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रमका वक्ताहरुले तिज पर्व नेपाली महिलाहरुको बिशेष पर्व रहेको भन्दै यो पर्वको महिला आन्दोलनमा समेत महत्वपुर्ण योगदान रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्लाका १५ वटै पालिकाबाट अनेमसंघमा आवद्ध महिला कार्यकर्ताहरुका साथै स्थानीयहरुले तिज पर्वको शुभकामना आदनप्रदान गर्दै सांगितिक मनोरञ्जनमा सहभागिता जनाएका थिए ।