दमक/ ब्रीज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले दमक–६ आफ्नो १८औं शाखा स्थापना गरेको छ । आइतबार कार्यक्रमबीच कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाले सो कन्सल्टेन्सीको उदघाटन गर्नुभएको छ ।
थापाले विदेश अध्ययनमार्फत विद्यार्थीले सीप हासिल गरी त्यसलाई स्वदेशमै सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उचित परामर्श र तयारीसहित विदेश जानु विद्यार्थीको भविष्यका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
संस्थाका सीइओ रुपेश थापाले दमक तथा आसपासका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्डलगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने क्रममा संस्थाले उच्चस्तरीय परामर्श र सहयोग गर्नेछ ।
विदेशस्थित शाखामार्फत नेपालबाट गएका विद्यार्थीलाई थप सहजता दिलाइने पनि थापाले बताउनुभयो । विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विदेश अध्ययनसँगै विद्यार्थीले आफ्नो लक्ष्य र अवसरलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राख्नुभयो। उदघाटन समारोहमा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।