दमक/ झापाको दमक ६ मा मुख्य कार्यालय स्थापना गरी इलामको चुलाचुली सेवा केन्द्र मार्फत समेत कारोबार गर्दै आएको नवदुर्गा बहुउद्धेश्यीय सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाको अध्यक्षता र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा दमक १ स्थित दुर्गा मन्दिरको सभाकक्षमा सम्पन्न साधारण सभाको अवसरमा संस्थाका सदस्यहरु मध्ये ज्येष्ठ शेयर सदस्यहरु १२ जनालाई सम्मान गरिएको छ । संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा चुलाचुली सेवा केन्द्र प्रमुखलाई सम्मान गरेको छ ।
त्यस्तै संस्थाले कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपिए हासिल गर्ने सामुदायिक र संस्थागत बिद्यालयका छात्रछात्रा दुवैलाई नगद पुरस्कारसहित प्रशंसा पत्रद्धारा सम्मान गरेको छ । संस्थाको साधारण सभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष कोइरालाले बार्षिक प्रतिवेदन पेश गर्दै संस्था स्थापनाको इतिहास र वर्तमान अवस्थासहित आगामी कार्ययोजनासहित नीति, कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभयो । उहाँले पछिल्लो समय संस्थाले अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सामान्य मध्यम अवस्थामा रहेको उल्लेख गर्नुभयो । करिब १ हजार ३ सय १७ जना शेयर सदस्य रहेको सो संस्थाका नाममा हाल कुनै किसिमको बाह्य ऋण नरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
झापाको दमकसहित कमल, गौरादह, मोरङको उर्लाबारी, मिक्लाजुङ र इलामको चुलाचुलीलाई कार्यक्षेत्र बनाएको छ । संस्थाले दमककै सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थासहित सबै संस्थाहरुसँग एकीकरणका लागि प्रस्ताव समेत गरेको छ । संस्थाले गरेको सो प्रस्ताव सहभागी सदस्यहरुले पारित गरेका जनाइएको छ । यससँगै सो संस्था र सूर्यमुखी सहकारीबीच आगामी दिनमा एकीकरणको लागि बैधानिक बाटो खुलेको छ ।
साधारण सभाको उदघाटन कार्यक्रममा दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने , मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा संस्थाकी व्यवस्थापक धनकुमारी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव रत्न धिमालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । सो संस्थामा हाल २ करोड ८ लाख रुपैयाँ शेयर पुँजी रहनुका साथै संस्थाका ऋणीहरुको संख्या कूल २ सय १७ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।