दमक/ दमक बहुमुखी क्याम्पसले बिद्यार्थीहरुको खेलकुद बिकासका लागि आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापनमा विभिन्न जातजातीका साँस्कृतिक भेषभुषा र बाजागाजाहरुसहित कला संरक्षणको प्रयास गरेको छ ।
क्याम्पसको सहयोगमा स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गएको चैत्र १६ देखि सञ्चालन गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रमका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा दमकमा बसोबास गर्ने विभिन्न १२ जातजाती मध्ये ८ जातीले आआफ्नो परम्परागत साँस्कृतिक पहिचान झल्काउँदै नृत्य, गान आदि प्रस्तुत गरेका हुन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले सबै जातजाती र भाषाभाषीहरुको पहिचान , संरक्षण र प्रवद्र्धनका लागि खेलकुद समापनको अवसर पारेर साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।

सो अवसरमा राजवंशी, धिमाल, नेवारी, तामाङ, राई लगायतका विभिन्न जातजातीका साँस्कृतिक नृत्य टोलीहरुले आआफ्नो पहिचान झल्किने साँस्कृतिक पोशाक र बाजागाजासहित आकर्षक नृत्यहरु र गायन कला प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । नेपाल तामाङ घेदुङ संघका प्रतिमान तामाङले यस किसिमका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने अवसर पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसका सभापति भुपेन्द्र बस्नेत (भुवन)ले खेलकुद सप्ताह अन्तर्गत सञ्चालित विबिध सात बिधाका उत्कृष्ट खेलाडीहरुलाई विभिन्न शीर्षकमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको बताए । उनले खेलकुदको समापनसँगै आयोजना गरिएको साँस्कृतिक कार्यक्रमका माध्यमबाट साँस्कृतिक पक्षहरु, परम्परागत भेषभुषा र बाजागाजाहरुको संरक्षणमा नयाँ पुस्ताको ध्यान खिच्न र यसको पुस्ताहस्न्तारणमा समेत योगदान पुग्ने विश्वास लिइएको बताए ।
सहायक क्याम्पस प्रमुख पारसमणी आचार्यले खेलकुदका माध्यमबाट बिद्यार्थीहरुमा स्वास्थ्य चेतना र अनुशासनको बिकास समेत हुने भएकाले बर्षेनी यस किसिमको खेलकुद कार्यक्रमलाई सप्ताहव्यापी रुपमा मनाउने गरिएको उल्लेख गरे ।
क्याम्पस सञ्चालक समिति अन्तर्गतको खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक मोहन धिमालले बिद्यार्थीहरुमा मानिसको दैनिक जिवन र स्वास्थ्यका दृष्टिकोणबाट खेलकुद महत्वपूर्ण भएको उल्लेख गरे । उनले सबै जातजाती र भाषाभाषीहरुको कला संस्कृति संरक्षण बिना समाजको बिकास असम्भव हुने भएकाले नयाँ पुस्ताहरुमा यसबारे सचेतना जगाउन यो कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु धिरेन लाओती, विभिन्न जातजातीका जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व क्याम्पस प्रमुख डा. नेत्र बहादुर बुढाथोकी, प्राध्यापकहरु राधिका ओझा, क्याम्पसका प्रशासकीय अधिकृत पदम घिमिरेसहित शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा स्ववियु सदस्य तथा खेलकुद सप्ताह कार्यक्रमका संयोजक सञ्जय राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन स्ववियु कोषाध्यक्ष प्रिती रानामगरले गरेकी थिइन् ।