दमक/ आज २५७० औं बौद्ध जयन्ती तथा उभौली पर्व विशेष महत्वसाथ मनाइँदैछ । बौद्ध धर्मावलम्बीहरुले भगवान गौतम बुद्धको २५७० औं जन्मजयन्ती, र किराँत तथा हिन्दु धर्मावलम्बीहरुले उभौली अर्थात चण्डी पूजा गरेर यो पर्व मनाउँदैछन् ।
भगवान् बुद्धको जन्म कपिलवस्तु नजिकै रहेको लुम्बिनीमा भएको मानिन्छ । बाल्यकालमा राजकुमार सिद्धार्थका रूपमा चिनिएका उनले सांसारिक सुख–सुविधा त्यागेर मानव जीवनका दुःख र तिनको समाधानको खोजी गरेका थिए । लामो तपस्या र ध्यानपछि उनले ज्ञान प्राप्त गरी ‘बुद्ध’ अर्थात जागृत व्यक्तिका रूपमा परिचित भएका हुन् ।
बुद्धका उपदेशहरूमा अहिंसा, करुणा, सत्य, अनुशासन र मध्यम मार्गलाई विशेष महत्व दिइएको छ। उनले मानिसलाई लोभ, मोह र क्रोध त्याग्दै सही जीवनपथ अवलम्बन गर्न प्रेरित गरेका छन्।् । उनका शिक्षाले धार्मिक मात्र होइन, सामाजिक र नैतिक दृष्टिले पनि ठूलो महत्व राख्दछ ।
बौद्ध गुम्बाहरुमा गौतम बुद्धका अनुयायीहरुहरूले दीप प्रज्वलन, पूजा–अर्चना, ध्यान तथा प्रवचनमार्फत बुद्धका शिक्षालाई स्मरण गरिरहेका छन् । गुम्बाहरूमा भिक्षुहरूले विशेष पूजा तथा पाठ गर्ने परम्परा पनि कायम छ ।
यसै अवसरमा झापाको दमक क्षेत्रमा पनि बौद्ध धर्मावलम्बीहरूले शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरेका छन् । दमक ५ स्थित बौद्ध गुम्बाबाट निकालिएको र्यालीमा विभिन्न गुम्बा, संघ–संस्था तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले बुद्धका शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।
सरकारले यस दिन सार्वजनिक बिदा दिँदै आएको छ भने विभिन्न संघ–संस्थाहरूले र्याली, सांस्कृतिक कार्यक्रम तथा सामाजिक सेवाका कार्यक्रमहरू आयोजना गरेका छन् । विद्यालय तथा कलेजहरूमा पनि बुद्धका जीवन र शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिँदैछ ।
आजको दिनले मानव जीवनमा शान्ति, सहिष्णुता र सहअस्तित्वको महत्वलाई स्मरण गराउँछ। वर्तमान समयमा बढ्दो हिंसा र अशान्तिका बीच बुद्धका उपदेशहरू अझ बढी सान्दर्भिक बनेका छन् ।
बुद्ध जयन्तीले सम्पूर्ण मानव समुदायलाई शान्ति, सद्भाव र सकारात्मक सोचतर्फ प्रेरित गर्दै आएको छ ।