दमक/ २०४० को दशक दमकमा मात्र होइन, पुरै झापा जिल्लामै ठुलो पर्दामा चलचित्र देखाउने फिल्म हलको संख्या अत्यन्त न्यून थियो। चलचित्र हेर्न हलसम्म पुग्ने आर्थिक हैसियत पनि थोरै मानिसहरूसँग मात्र थियो।
यस्तो परिस्थितिमा पनि मोरङको इटहरास्थित सरस्वती माविबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरी महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट आइकम अध्ययन पूरा गरेका चैतन्य बराल भने फरक बाटो खोज्दै थिए । उनी विस्तारै फिल्म हल सञ्चालक बन्ने यात्रामा अघि बढ्दै थिए ।
“झिंगाको संगतले फोहोरमा र्पुयाउँछ, मौरीको संगतले फूलमा”—यो उक्ति बरालको जीवनमा चरितार्थ भयो ।
आइकम सकेर २०४५ सालतिर दमक आउँदा उनका रुम पार्टनर थिए—अहिलेका चर्चित चलचित्र निर्माता उदय सुब्बा। चलचित्र क्षेत्रसँग नजिकिएको यही संगतले बराललाई फिल्मप्रति आकर्षित बनायो।

दमक बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनी फिल्म हेर्न पाथीभरा चलचित्र भवन पुगे। फिल्मको नाम अहिले ठ्याक्कै सम्झनामा छैन, तर बीचमा आएको एउटा विज्ञापन भने अझै ताजै छ—“एकाउन्टेन्टमा आवश्यक”।
उदय सुब्बाकै प्रोत्साहनमा उनले त्यो जागिरका लागि निवेदन दिए। त्यसअघि तीन पटकसम्म लोकसेवा आयोगको परीक्षा दिएर पनि सफल नभएका बराललाई फिल्म हलमै रोजगारीको अवसर मिल्यो। मासिक ६०० रुपैयाँ तलबमा उनले काम सुरु गरे।
बराल सम्झन्छन्, “त्यो बेला ६०० रुपैयाँ निकै ठूलो रकम थियो। ४०० रुपैयाँ खर्च गरेर पनि २०० रुपैयाँ बचत गर्थें।”

केही समयमै उनले चलचित्र वितरण व्यवसाय पनि सुरु गरे। त्यतिबेला यो व्यवसायमा ठूलो लगानी आवश्यक पर्दैनथ्यो। यही व्यवसायबाट आर्जित आम्दानी र आफ्नो पुख्र्याैली सम्पत्तिको लगानीमार्फत उनी पाथीभरा चलचित्र भवन प्रालिको शेयर सदस्य, अर्थात हल मालिक बन्न पुगे।
“हलमा जागिर खान आएको म पछि मालिक पो भएँछु,” उनी २०४८ सालको सम्झना सुनाउँदै भन्छन्।

बरालले आफ्नो जीवनको महत्वपूर्ण समय चलचित्र क्षेत्रमा बिताएका छन् । पेशा व्यवसायसँगै उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिएका बरालले पछि बिराटनगरको डिग्री क्याम्पसबाट स्नाकोत्तर (डीग्री) हासिल गरे । देशका सयौं चर्चित निर्माता, निर्देशक र कलाकारहरूसँग सहकार्य गरेका उनी विगत सम्झँदै भन्छन—
“कहिलेकाहीँ फिल्म हेर्न आउने दर्शकको भिड यति धेरै हुन्थ्यो कि नियन्त्रण गर्न प्रहरी बोलाउनुपर्ने अवस्था आउँथ्यो ।
धेरै फिल्मले पाथीभरा हलमा ५१ दिनसम्म प्रदर्शन पाएका थिए।” उनका अनुसार सफल चलचित्र बन्न कथावस्तु, कलाकारको अभिनय, निर्माता र निर्देशक सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

पाथीभरा हल अत्याधुनिक प्रविधिमैत्री बन्दै

दमकमा ३८ वर्ष लामो इतिहास बोकेको पाथीभरा चलचित्र भवन पूर्वी नेपालको चलचित्र संस्कृतिसँग गहिरो रूपमा जोडिएको नाम हो । यसका संस्थापकहरू किसन राठी (विर्तामोड), केदार पराजुली, भिमबहादुर भट्टराई, भरत पाण्डे र खुमानन्द सुवेदी हुन् ।

वि.सं. २०४५ साल कार्तिक ४ गते, दशैं–तिहारको उल्लासमय वातावरणमा पाथीभरा चलचित्र भवनले आफ्नो औपचारिक सुरुवात गरेको थियो। त्यतिबेला दमकवासीले यसलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई एउटा नयाँ सांस्कृतिक आयामको रूपमा स्वागत गरेका थिए ।

त्यो समयमा पाथीभरा हलले दमक मात्र होइन, गौरीगञ्ज, शिवगञ्ज लगायतका क्षेत्र तथा पूर्वी पहाडी जिल्लाका चलचित्रप्रेमीहरूको आवश्यकता पूरा गरेको थियो। दमकको केन्द्र मानिने तत्कालीन वडा नं. १० मा स्थापना भएको यस हलले धेरै दर्शकलाई पहिलो पटक ठूलो पर्दामा चलचित्र हेर्ने अवसर दिएको थियो।

स्थानीय युवा धर्मराज ढुंगाना सम्झन्छन्, “मलाई त प्रत्यक्ष सम्झना छैन, तर आमाबुबाको भनाइ अनुसार उद्घाटनकै दिन गाउँभर निम्तोपत्र बाँडिएको थियो।”
पाथीभरा हलमा पहिलोपटक प्रदर्शन गरिएको चलचित्र ‘राजपुत’ नामक हिन्दी फिल्म थियो। हालसम्म यस हलमा एक हजारभन्दा बढी चलचित्र प्रदर्शन भइसकेका छन्। सुरुका दिनहरूमा हिन्दी चलचित्रको वर्चस्व रहे पनि पछि नेपाली चलचित्रहरूले पनि उत्तिकै स्थान पाउन थाले।

विशेषगरी राष्ट्रिय कलाकारहरू विशेष प्रदर्शनीका लागि दमक आउँदा फिल्म हल मात्र होइन, सिंगो बजार नै उत्साहित हुन्थ्यो। चलचित्रले बजारमा छुट्टै चर्चा र चहलपहल सिर्जना गथ्र्याे।

तर, कोरोना महामारीपछि पछिल्लो पाँच वर्ष यता नेपालको सिनेमा क्षेत्रले कठिन समय भोगिरहेको छ। त्यसका बाबजुद पनि केही उत्कृष्ट नेपाली चलचित्रहरूले दर्शकको मन जित्न सफल भएका छन्। ‘छक्कापञ्जा’, ‘पूर्णबहादुरको सारंगी’ र ‘महाजात्रा’ जस्ता फिल्महरूले पुनः दर्शक हलसम्म तान्ने काम गरेका छन्।

यही सकारात्मक संकेतले पाथीभरा हलका सञ्चालकहरूमा नयाँ ऊर्जा थपिएको छ ।

हाल व्यवसायीहरू विक्रम पराजुली, चैतन्य बराल, योवन थापा र कल्पना भट्टराईको संयुक्त लगानीमा ‘ॐ पाथीभरा प्रालि’ मार्फत पुरानो हललाई पुनर्निर्माण गरी अत्याधुनिक प्रविधियुक्त सिनेमा घरमा रूपान्तरण गर्ने काम भइरहेको छ ।

करिब डेढ वर्षदेखि जारी पुनर्निर्माण कार्य आगामी दशैंअगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सञ्चालक चैतन्य बरालका अनुसार, “यसपटक पाथीभरा हललाई आधुनिक प्रविधिसहित स्तरीय सिनेमा घरका रूपमा पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”

Facebook Comments Box