काठमाडौं/नेपालले १३ औं दक्षिण एशियाली खेलकुद साग फुटबलको उपाधि जितेको छ । यो जीतसँगै नेपालले साग फुटबल इतिहासमा उपाधि संख्या तीन पुर्याएको छ । आज घरेलु मैदानमा भूटानविरुद्ध २–१ जित निकाल्दै नेपाल उपाधि जित्न सफल भएको हो । फाइनल खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अभिषेक रिजालले नेपाललाई अग्रता दिलाएपनि भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए ।
खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे ।

नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका थिए । उनको गोलले नेपालको अग्रता दोब्बर भएसँगै नेपाली टिमको आशा चुलिएको थियो । त्यसपछि जब्बर नेपाली रक्षापंक्तिको अवरोध छिचोल्न नसक्दा दक्षिण एशियाली फुटबलको फाइनलमा पहिलोपटक पुगेको भूटान नेपाललाई खेल सुम्पिन बाध्य भयो ।
त्यसअघि नेपालले खेलको १२ औं मिनेटमा नै सुजल श्रेष्ठलाई गुमायो । पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरेका थिए । खेलको ३६ औं मिनेटमा भुटानले बराबरी गोल फर्कायो । चेन्चो ग्याल्सेनले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै भुटानलाई खेलमा फर्काएका थिए । यसअघि नेपालले सन् १९९३ र २०१६ मा उपाधि जितेको थियो ।

Facebook Comments Box