दमक/  कोरोना संक्रमणका कारण नेपालमा  २२ महिलासहित कूल ९५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा नेपालमा थप चार जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको हो । बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन् । क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो । त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङ्गका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते सङ्क्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टायता ५२५ जना कोरोनाका नयाँ बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै सङ्क्रमितहरूको सङ्ख्या २४ हजार ९५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन् ।
प्रदेश १ मा ११५ संक्रमित
प्रदेश १ मा बिहीवार ११५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ८३ जना पुरुष र ३२ जना महिलामा संक्रमण देखिएको हो । सङ्क्रमितहरु मोरङ्गका ८८, सुनसरीका १९, इलामका ४, झापा र उदयपुरका १÷१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १,६२६ पुगेको छ । तीमध्ये ७२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतक सबै मोरङ्गका पुरुष हुन् ।

Facebook Comments Box