दमक/नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश एकमा मात्रै संक्रमतिको संख्या १ हजार ९०७ पुगेको छ भने मृतकको संख्या १३ पुगेको छ । मृत्यु हुनेमा ९ जना मोरङका छन् । अन्य ४ जना प्रदेश एक बाहिरका रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा मोरङमा ६४ जनासहित प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएकामध्ये विराटनगरमा ४० जना छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १÷१ जनालाई संक्रमण देखिएको छ । उता सुनसरीमा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैगरी ओखलढुङ्गा, तेह्रथुम र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको छ । शनिबार प्रदेश एकमा १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Facebook Comments Box