दमक/ झापाको कमल गाउँपालिका २ स्थित खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्याान गएको छ । २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवार बेलुकी क्याम्पा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागि दमक ल्याउँदै गर्दा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
त्यसैगरी सुनसरी खोलामा मृत फेला परेका भोक्राहा नरसिंह गाउँपालिका ७ सुनसरीका २२ बर्षीय गुणराज यादवको हत्या भएको पुष्टी भएको छ भने हत्या संग्लग्न ५ जनालाई पक्राउ गरिएको छ ।
गत श्रावण ३१ गते सुनसरी खोलामा बोरा भित्र मृत अवस्थामा यादवको शव फेला परेको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय ४२ बर्षीय दिनेश महतो, २० बर्षीय पप्पु राम, १९ बर्षीय शिव कुमार मेहेता, दिपक कुमार यादव र प्रदिप रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नै ति युवकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले श्रावण २९ गते साँझ ७ तिर पालैपालो कुटपिट गरी हत्या गरेको र चोकरको बोरामा हालेर सुनसरी खोलामा फ्ँयाकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।