काठमाडौं/ गएको २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण अहिले सम्मकै सर्वाधिक मानिसको मृत्यु भएको हो भने संक्रमितको संख्या पनि सर्वाधिक थपिएको छ । आज सोही अवधिमा नयाँ संक्रमित १ हजार २ सय २१ थपिएका छन् । यससंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार सात सय १७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १२ सय २१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।