दमक/झापाको दमकमा सरकारीस्तरबाट १० दिन अघि स्वाव परिक्षणका लागि नमुना संकलन गरिएका ३५० जना भन्दा बढी मध्ये हाल सम्म ९३ जनाको परिक्षण रिपोर्ट आएको छ । कोरोना नेगेटिभ देखिएका उनीहरुको रिपोर्ट हिजो बिहिबार सम्ममा नगरपालिकाको स्वास्थ्य शाखामा प्राप्त भएको हो ।
निजीस्तरबाट समेत स्वाब संकलन गरेर कोरोना परिक्षण गरिन थालेपछि पीसिआर परिक्षणको रिपोर्ट ढिलो सार्वजनिक हुन थालेको पनि पाइएको छ । यसका पछाडी कोरोना परिक्षणका लागि तोकिएका प्रयोगशालामा नै आर्थिक चलखेल भएको जानकारहरुको बुझाई छ ।
दमकको पशुहाटमा हिजो एकैदिन निजी स्वास्थ्य संस्थाले जनही २ हजार ५ सय रुपैयाँ शुल्क लिएर ४१ जनाको पीसिआर परिक्षणका लागि नमुना संकलन गरेकोमा उनीहरुको रातीनै रिपोर्ट सार्वजनिक भएको छ ।
ति मध्ये नेगेटिभ देखिएका २५ जनाको रिपोर्ट सार्वनिक भएको हो । १६ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको बताइएको छ । कोरोना पोजिटिभ देखिएका कतिपय सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवाहरुले सामाजिक सञ्जालहरु मार्फत आफूमा कोरोना पोजिटिभ देखिएको भन्दै आफनो प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन भनेका छन ।