एजेन्सी/आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन् ।
आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन् । किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ ।’ उनका अनुसार आज दूध(सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ । तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन ।
यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन् । सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए । सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ । तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन ।
सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ । सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । सरकारसँग उनीहरूको अर्काे वार्ता भोलि बुधबार हुनेछ । बीबीसी हिन्दीबाट