दमक/ लामो समय नेपालमा शरणागत जिवन बिताइरहेका भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीका लागि नेपाल सरकारको तर्फबाट चित्तबुझदो भुमिका निर्वाह हुन नसकेको भुटानी शरणार्थीहरुले बताएका छन ।
नेपाल सरकारले बर्षौंदेखि आफूहरुको स्वदेश फिर्तीका लागि भुटान र भारतलाई दबाब दिन इच्छा नदेखाउनु र भुटानीहरुले स्थापना गरेका राजनीतिक पार्टी र तिनका नेताहरु आआफनो व्यक्तिगत स्वार्थमा लिप्त भएर पलायन हुनु जस्ता कारणले शरणार्थीहरुको स्वदेश फर्किन पाउने अधिकारबाट बञ्चित भएको उनीहरुको साझा निष्कर्ष छ ।
शरणार्थी समुदायका बौद्धिक व्यक्तित्वहरुको सक्रियतामा आज ( मंगलबार ) नै गठन भएको सामाजिक संस्था छेङेन मेतोका बारेमा जानकारी दिन आयोजित सक्षिंप्त कार्यक्रममा शरणार्थी अगुवाहरुले त्यस्तो उल्लेख गरेका हुन ।
सो अवसरमा सो संस्थाका अध्यक्ष डा. भम्पा राईले नेपाल सरकारले आफूहरुको स्वदेश फिर्तीको लागि पहल नगरेको प्रमाणित भइसकेको बताए । उनले भने – हामी स्वदेश फिर्तीको पक्षमा कुराकानी , छलफल, मिटिङ सम्म बस्न नपाउने नेपाल सरकारको तर्फबाट झापाको सिडिओसाबले गर्नुभएछ यो सुनेर म आश्चर्यमा परेको छु ।
उनले आज ( मंगलबार) सो कार्यक्रम बेलडाँगीस्थित शिविरमा गर्ने तय भएकोमा सरकारको अवरोधका कारण बाहिर गर्नुपर्ने अवस्थाले आफू दुखित भएको पनि बताए । सरकारले विदेशी दातृ निकायले शरणार्थीलाई दिदैं आएको सुविधा बन्द गरेको र नेपाल सरकारले शरणार्थीहरुको जिम्मा लिएको भनिए पनि करिब ६÷७ हजार भुटानी शरणार्थी अहिले सेवा सुविधाबिहिन अवस्थामा गुज्रिरहेका शरणार्थी अगुवाहरुको भनाई छ ।
सो अवसरमा जनाइए अनुसार भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको पहलसंगै भुटानबाट लखेटिँदा भएको क्षतिको लगत संकलन गर्ने, सामाजिक कार्यहरु गर्ने उदेश्य राखेर सो संस्था गठन गरिएको हो । गठित संस्थाको अध्यक्षमा डा. भम्पा राई, कार्यक्रम संयोजक डीएस काफले, प्रचार प्रसार सचिव गंगा अधिकारी अर्थ सचिव भीम खडका र प्रमुख कार्यवहाक सचिव एनबी गिरी रहेका छन । अध्यक्ष डा. राई र कार्यवहाक सचिव गिरी हाल नेपालमा छन भने काफ्ले अष्ट्रेलिया र अधिकारी तथा खडका अमेरिकामा बस्दै आएका वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।