भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् ।
चुनावमा मतदाता प्रभावित गर्न खरिद गरिएको १५ करोड रुपैयाँ बराबरको त मदिरा मात्रै जफत गरिएको आयोगको भनाइ छ । यस्तै, लागूपदार्थ ६० करोड रूपैयाँ बराबरको जफत गरिएको छ भने अन्य जिन्सी सामग्री अर्ब ७१ करोड रूपैयाँ बराबरको भएको आयोगले जनाएको छ ।
निर्वाचनको अघिल्लो दिन बुधबार मात्रै गुजरातको बदौराबाट साढे चार अर्ब जफत गरिएको प्रमुख निर्वाचन आयुक्तले जानकारी दिनुभएको छ । निर्वाचन आयोग, प्रहरी, कर कार्यालयलगायतका नियामक निकायहरुको सक्रियताका कारण यति ठूलो परिमाणमा सम्पति जफत भएको प्रमुख निर्वाचन आयुक्तले बताउनु भएको छ ।
गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो । जहाँ भारतीय जनता पार्टी २२ वर्षदेखि सत्तामा रहँदै आएको छ । यस पटक पनि भाजपाले नै बहुमत प्राप्त गर्ने मत सर्वेक्षणहरूले देखाएका छन् । आम आद्मी पार्टी पनि यस पटक गुजरातमा प्रवेश गरेको छ ।