दमक/अर्जेन्टिना र क्रोएसिया विश्कपको सेमिफाइनलमा प्रवेश गरेका छन । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो भने सर्वाधिक विश्व विजेता ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनल प्रवेश गरेको हो । नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो ।
२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो । ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो ।
खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो ।
अर्जेन्टिनासँग पराजित हुँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलबाटै घर फर्किएको छ । यसअघि सन् २०१४ को सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा ४–२ ले पराजित हुँदै डच टोली उपाधिबाट टाढिएको थियो ।
सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजि गरेको हो ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे ।
ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र माक्र्विन्होस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५ं१ औं मिनेटमा गोल गरेका थिए ।
यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।