शिवसताक्षी / पौडेल वंशका कुल देवता बराह भगवानको जन्मजयन्ती विशेष कार्यक्रम झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाममा सम्पन्न भएको छ ।
धाम परिसरमा रहेको बराहको मन्दिरमा विशेष पूजाअर्चनासहित जन्मजयन्ती मनाइएको हो । पौड्याल वंशोद्धार शिवसताक्षी नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा झापा जिल्लाका १५ वटै पालिकाबाट पौडेल बन्धुहरुको प्रतिनिधिमूलक सहभागिता थियो ।
नगर समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पौडेल वंश महासंघका केन्द्रिय सदस्य तथा वंशोद्धार समितिका महासचिव युवराज पौडेलको प्रमुख आतिथ्य र महासंघका केन्द्रीय सदस्य तथा वंशोद्धार जिल्ला समिति झापाका अध्यक्ष कमलप्रसाद पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा कूल देवता बराह सबैका आस्था र विश्वासका धरोहर भएकाले विशेष सम्झना गरिने गरेको उल्लेख गरे ।
सो अवसरमा जिल्ला अध्यक्ष पौडेलले जिल्लाका १३१ वडा मध्ये ६ वटा वडामा बाहेक सबै वडामा पौडेल बन्धुहरुको बसोबास रहेको र जिल्लाभर २ हजार ३ सय परिवार पौडेलहरु बस्दै आएका जानकारी गराए । पौडेल बन्धुहरुको भेला तथा सम्बद्ध कार्यक्रमहरुमा उपस्थिती न्यून हुँदै आएकोप्रति सहभागीहरुले गम्भिर रुपमा लिई संगठन विस्तार र सक्रियतामा ध्यान दिन नेतृत्वलाई सुझाव दिएका थिए ।
भदौ ९ गते पौडयाल वंशोद्धार समितिको स्थापना दिवस र असार १ गते पौडेल वंश महासंघको स्थापना दिवस मनाइने गरिएको कार्यक्रममा जानकारी दिइयो । पौड्याल वंशोद्धार शिवसताक्षी नगर समिति उपाध्यक्ष मोहन प्रसाद पौडेलले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने शिवसताक्षी ६ का चन्द्रमणी पौडेल, अर्जुनधाराका खेमकुमार पौडेल लगायत विभिन्न पालिकाबाट सहभागी बन्धुहरुले सुझावहरु राखेका थिए ।