बिर्तामोड/ झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सदस्य र पत्रकारलाई सम्मान र नवनिर्वाचित कार्यसमितिको सपथग्रहण गर्दै मुल माइन्यूट प्रमाणितसभा सम्पन्न गरेको छ ।
आज बिर्तामोडमा आयोजित १४ औं वार्षिक मुल माइन्यूट प्रमाणित सभामा सहकारीले आर्थिक वर्ष ०८०–८१ का उत्कृष्ट शेयर सदस्य कमल पाण्डे, फुलमाया तामाङ, वीरबहादुर राई , पर्शुराम बस्नेत, अजय शाहलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।
यस्तै, वर्ष उत्कृष्ट पत्रकारका रुपमा निष्कर्ष न्यूजका सम्पादक विष्णु पौडेल र इजलास दैनिकका सम्पादक प्रदिप परियार लाई नगद रु १०/ १० हजार सहित सम्मान गरिएको छ । उनीहरुलाई बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, सिम्रिकका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।
यस्तै, संस्थाले उत्कृष्ट सेवा केन्द्रको रुपमा धुलावारीलाई नगद १५ हजार र मधुमल्ला सेवा केन्द्र मोरङलाई उत्कृष्ट व्यवस्थापन तथा आन्तरिक सुशासन कायम गरेमा नगद १५ हजारसहित पुरस्कृत गरेको छ ।
सोही अवसरमा

सिलाई बुनाईमा उत्कृष्ट शेयर सदस्य बब्ली खातुनलाई मेसिन प्रदान गरिएको छ ।
सहकारीले गत आव २०७९–८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेको छ । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ ।
खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
‘एक घर एक सदस्य अभियान, सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४ हजार २ सय ३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको जनाएको छ । ७ वटा इकाइगत साधारण सभा सम्पन्न गरेको सिम्रिकले अन्तिम माईन्युट प्रमाणीकरण सम्पन्न गरेको कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।