दशकौ अघिसम्म दशै भन्ने बित्तिकै नयाँ लुगा पाइने, मासु -भात केरा – चिउरा खानु पाइने, तिहारमा सेलरोटी खानु पाइने, देउसी भैलो खेल्नु पाइने, पटेका पढ्काउनु पाइन्थ्यो दुतिया/भाई टीकाको दिन आफ्नो दिदी – बहिनीको हातबाट नभए फुपूको हातबाट सयपत्री या मखमली फुलको माला लगाइन्थ्यो र अहिलेसम्म त्यो दस्तुर यथावत छदैछ र पुरानो सम्झना पनि अझै आलै छ । त्यस बेला सबैलाई दशै – तिहार साह्रै रमाइलो लाग्थ्यो । विशेष गरेर दशैमा लिम्बु समुदायले पनि सन्तानको सबैभन्दा जेठो परिवारमा जसले पुर्खा देखि नै मार काटने/हान्ने अधिकार पाएका थिए, उसैको घरमा नवरात्रको दिन घटस्थापना गरेर जमरा राखेपछि हतियारहरुको शक्ति पूजा गर्दै नौ दिनसम्म मालश्री पढ्ने, नगरा बजाउने र नवमीको बिहान साइत हेरेर मालश्री पढ्दै अनि नगरा बजाउदै बन्दुक पडकाएर मार काटेर अर्थात पशु बलि दिएर नवदुर्गा भवानीको पूजा गर्थे, त्यो दस्तुर अझै कति ठाँउमा छदैछ तर अजकल कतिपय ठाँउमा पशु बलीको बद्लामा पर्सी, लौका, काक्रा इत्यादिको पशुको स्वरुप बनाएर बली दिने चलन पनि छ ।भोलिपल्ट दशमीको दिन जमरा उठाएको घरले जमरा कानमा अथवा टोपीमा, स्त्री जातिको केशमा सिउरी दिएर,  जमरा नउठाउने घरले फुल चामल शिरमा छर्केर दही – धानको चामल (अक्षता) मिसाएको सेतो टीका आफू भन्दा ठुला – बडाले निधारमा लगाईदिएर आशीर्वाद दिने चलन लिम्बु समुदायमा अझै यथावत छ  र कतिपय ठाँउहरुमा लिम्बु समुदायले मौलो हान्ने चलन थियो र अहिले पनि कुनै – कुनै ठाँउमा मौलो हान्ने चलन अझै पनि बाँचि राखेका छ ।

भेजोको दिनमा जसको घरमा जुन मासु चल्छ सुगुर, भैसी, रांगा, खसी, काटथे र गछे अनुसार किनेर घर लान्थे, र दशमीको दिन बिहान सबै परिकार पाकी सकेपछि पितृहरुलाई अघेनामा चढाउएर सम्झना गर्थे । धेरै टाडाबाट सेतो कमेरो अनि रातो माटो ल्याएर दशैमा घर पोत्ने चलन थियोे, अलपट,टेराकोटा, रंगहरु आएपछि यो चलन  पनि सधैको निम्ति सकियो । पहिले पहिले दशैमा टाडो – नजिक बिबाहवारी भएर गएका छोरी चेली – बेटीहरुले घर परिवार र आफन्तलाई कोसेली लिएर भेट्नु आउथे, गाउँले नै मिलेर आ – आफ्नो गाउँको बाटोहरु सफा गर्थे, गाउँमा रोटे पिङ र लिङे पिङ थाप्थे सानो -तिनो मेला नै लाग्थ्यो, सानो देखि बुडा पाकासम्मले एकसरो नयाँ लुगा लगाउने गर्थे र मिठो मसिनो खाने र जुवा तास खेलेर रमाइलो गर्ने समय भनेको दशै र तिहार नै थियो । कसैको बारी कुत या थैलीमा कमाएर खाँदैछ भने जात अनुसारले कसैले केरा र कसैले रक्सी लिएर जमिन धनीकोमा टीका थप्नु /पुर्‍याउनु जानु पर्ने दस्तुर थियो र गाउँमा बिजुवा, फेदाङबा – फेदाङमाहरुकोमा प्रत्येक घर लिम्बुले एक बोतल रक्सी टीकामा आएको भनेर पुर्‍याउने दस्तुर थियो र मण्डली प्रथा सिक्किममा रहिन्जेलसम्म केही न केही आफ्नोमा के छ सिसारको रुपमा पुर्‍याउनु पर्ने दस्तुर पनि थियो तर आजकल त्यो दस्तुर हराएर गयो, अन्य ठाँउमा कस्तो पाराले दशैलाई मनाउथ्यो थाहा छैन । यो सन्दर्भ सिक्किमको लिम्बु गाउँमा दशै मनाउने चलन विषयको कुरा हो । तर, जब गाउँ बस्तीमा प्रसस्त गाडीहरुको आवत – जावत शुरु भयो शहर बजारसंग सिधा सम्पर्क जोडियो दशैको त्यो रमाइलो र रौनाकपन हराएर जानु थाल्यो । पहिल्यै- पहिल्यै दशैमा मात्र एक जोडी लुगा लगाउनु पाउने र अर्को नयाँ लुगा फेरि आउने दशैमा मात्र पाइन्थ्यो र दशै सकिर्‍जेलसम्म मिठो – मसिनो मासु र झौलो (धानको चामलको) भात खानु पाइन्थ्यो अहिले ब्रान्डेड लुगा, जुत्ता जहिले पनि लगाउनु पाइन्छ, जे खानु मन लाग्छ तुरुन्त खानु पाई हालिन्छ, जस्तो चिज चाहियो अन्लाईन सोपिङ भइहाल्छ, पैसा जी पेबाट तुरुन्तै भुक्तान भइहाल्ने जमाना आएपछि दशैको अन्तिम भिडभाडको हाट – बजार बन्द भइसक्यो, बिस्तारै – बिस्तारै त्यो दशैको रमाइलोपन र रौनाक पनि हराएर जाँदै गरेको सबै अधबैशे देखि पाको उमेरकाहरुलाई थाहा हुँदैछ ।
पुरानो कुरामा हाम्रो बाजेले हामीलाई सुनाउनु हुन्थ्यो सोरेङ बजारमा दशैको लुगा किन्न पाउथ्यो तर  कट्रोलमा र लुगा नाप्ने मिटर थिएन, गाउँको एक जना लामो हात भएको ब्यक्तिलाई छानेर लुगा नाप्नु लान्थ्यौ र उसलाई त्यसको बद्लामा ठुलो परिवारले एक जोडी लुगा दिन्थियौ भनेर भन्नु हुन्थ्यो  ।
सिक्किममा पनि केहि वर्ष अघिसम्म दशै र तिहार हाम्रो होइन भन्ने मान्छेहरु निकै धेरै नै थिए र त्यो कुरालाई कतिले त मान्यता पनि दिएका थिए र अहिले पनि छन् । त्यसरी नेपालमा पनि लिम्बु जातिमा यस्तै कुरा हुन्थ्यो रहेछ भन्ने यस लेखबाट थाहा पाउन सकिन्छ, “हरेक पटक दशैं आउँछ लिम्बू समाजमा आफूलाई ठेक्केदार सम्झिने केहिहरु धारेहात लगाउँछन् । ए पख्लास, कसैले दशैं मनाउला । तीज आउँछ उहीँ गर्छन् । तिहार आउँछ एकथरी उस्तैहरु अघि सर्छन् । तिहार लिम्बु जातिको मौलिक पर्व होईन मनाउनु हुँदैन ।(Sesephung ,03 August 2022)
त्यस्तै अर्को यहाँ उल्लेख गर्नु लायकको कुरा, “मुन्धुममा चेलीले माइतीलाई फूल दिनु हुँदैन भन्ने तर्क आफैमा कपोकल्पित मात्रै हो । तिहारलाई तिहारको रूपमा मनाउन र तिहारमा आफ्नो माइतीलाई सम्मान र माया व्यक्त गर्न लिम्बुनी चेलीहरुलाई खुल्ला छ । लिम्बू समाज तालिवानले शाशन गरिरहेको जस्तो कट्टरपन्थी मुश्लिम समाज होईन । दुई चार जना ठालुहरु ले भन्दैमा आफ्नो माइतीलाई सम्मान गर्न नछोड । माइतीलाई माँया गर्न नछाड । लाऊ चेली लाऊ,,,, आफ्नो माइतीको निधारमा सप्तरंगी टिका र गलाभरी माला लगाऊ ।
(भाईटीका लगाँउदा लिम्बुहरुको निधार पिल्छि पिल्सिछ र ?, सेसेफुङ अगस्त ३,२०२२)
एउटा पत्रिकाले यस्तो लेख्छ, “ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दसैँ पर्व दही अक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन्। सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले-पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन्। हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ।   ( पालिका सन्देश, २०८० कार्तिक ८ गते )
यस्तै प्रकारले समाजशास्त्री सुरेश ढकालका अनुसार ‘राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गरेपश्चात लिम्बुलाई पनि दसैँ मान्न र बलि दिन विवश पारियो । दसैँ मानेको प्रमाण स्वरूप पशुको रगतको पञ्जाछाप भित्तामा लगाएर प्रमाण राख्ने र सरकारी हाकिम आएको बेला देखाउने चलन बसालियो ।’ (दसैँमा सुधार्नु र त्याग्नुपर्ने कुराहरू रातोपाटी, १४ कार्तिक २०८० पासाङ शेर्पा ) । सायद सुरेश ढकाल ज्युको भनाई इतिहासमा आधारित र सत्य पनि हुन सक्छ तर यस विषयमा बिनु पोख्रेलज्युले प्राज्ञ डा° जगमान गुरुङज्युलाई पोडकास्टमा लिएको अन्तर्वार्तामा `यो अपव्याख्या हो अर्थात गलत अर्थ गराइ` यसको सही अर्थ हो “भित्रको शह बाहिर नजावोस, बाहिरको किटानु भित्र नआवोस ।” भन्ने हो भन्नु भएको छ । अब यो दुई मतमा एउटा त पक्कै पनि सत्य होला तर त्यो समयले बताउनेछ तर अहिलेलाई यो मुनीको लिंकमा सुन्नु होस ।
https://www.facebook.com/share/Vo1ytjMPqxHixkT4/
कथित दशै बहिस्कार २०२४ भनेर कालो टीका लगाएको देखियो, यो लिंकमा हेर्नु होला ।
https://www.facebook.com/share/v/L6SVD4qqJNNMuiZh/
तर दशै चाडको बिरोध र बहिष्कारले के हुन्छ भन्नेमा पासाङ शेर्पाज्यु लेख्नु हुन्छ,”दसैँको विरोध, बहिष्कार, खारेजीभन्दा यसलाई धार्मिक रूपले भन्दा पनि सामाजिक, सांस्कृतिक, मनोरञ्जन, घुमघाम र अध्ययन अनुसन्धानको अवसरका रूपमा मनाउँदा सामाजिक सद्भाव एकअर्काे धर्मसंस्कारप्रतिको सम्मान सहअस्तित्वको आवधारणा अनुकूल ग्राह्य र सन्तुलित हुन सक्छ ।
सामाजिक स्वरूप ग्रहण गरिसकेको समाजमा भिजिसकेको लामो समयदेखि संस्थागत भइसकेको पर्व अलग थलग गर्न खोज्नु र यस धर्मको बाहुल्य भएको मुलुकमा विरोध र बहिष्कारको नाराले अरूको आस्था र विश्वासमा गहिरो चोट पुग्न सक्छ ।”(दसैँमा सुधार्नु र त्याग्नुपर्ने कुराहरू,रातोपाटी, १४ कार्तिक २०८०)।
अब दलितहरुले दशै मान्ने कि नमान्ने भन्नेमा हिरा बिश्वकर्माज्युको बिचार यस्तो छ, “नेपालका सबै हिन्दु चाडहरू विभेदसँग प्रत्यक्ष जोडिएका छन् । जनैपूणिर्मा ब्राहृमणहरूको चाड मानिन्छ जसले जनै फेर्ने बहानामा ब्राहृमण अर्थात् द्विजहरूको श्रेष्ठतालाई कायम राख्छ । दशैं जहाँ शक्तिको उपासना गरिन्छ जसको उपयोगकर्ता क्षेत्री हो ।
यो मार्फत क्षेत्रीको श्रेष्ठता चाहे त्यो रामको रावण माथिको विजयको रूपमा होस् वा ऋषिमुनि तथा देवताहरूको आहृवानमा सृजना गरिएको विभिन्न देवीहरूले दस्यु वा द्रविडरूपी राक्षसहरूको बध गर्दा होस् त्यहाँ क्षेत्रीहरूकै गुणगान गाइन्छ ।
तिहारलाई लक्ष्मीको उपासना गरिने वैश्यहरूको चाड मानिन्छ, जहाँ बलि जो शूद्रहरूका राजा थिए उनलाई विष्णुको वामन अर्थात् ब्राहृमण रूपी अवतारले शिरमा टेकेर दमन गरेको कथा भनिन्छ र धनसम्पत्तिको पूजा गरिन्छ । त्यहाँ वैश्यहरूको श्रेष्ठतालाई स्थापित गरिएको छ ।
शूद्रहरूको चाड फागुलाई मानिन्छ तर त्यहाँ पनि शूद्र अर्थात् दस्युहरूका राजा हिरण्यकश्यपकी बहिनी होलिका दहनको खुशीमा होली पर्व मनाइने किंवदन्ती छ । तर कुनै पनि चाडबाडले शिल्पी, निर्माणकर्ता तथा सबैको निस्वार्थ सेवा गर्ने शूद्रहरूको बखान वा महत्वमा जोड दिएको कथा तथा किंवदन्तीमा पाइँदैन । त्यस्तो अवस्थामा दलित तथा अन्य शूद्रहरूले दशैंलाई कुन रूपमा मान्ने यो प्रश्न म पाठकसमक्ष राख्न चाहन्छु । (अन्लाईन खबर, दलित तथा शुद्रहरुले दशैलाई कुन रूपमा मान्ने ? हिरा बिश्वकर्मा, २०८० कार्तिक ६ गते) ।
एउटा अर्को लेखमा नेपालमा किन लिम्बु जातिले दशै पर्वलाई धेरैले मनाउनु छाडे र लिम्बुहरुले किन टीका लगाए भन्नेमा यस्तो उल्लेख गरिएको छ, “राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दसैँ नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दसैँमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ । सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो टीका लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् ।
लिम्बूलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दही अक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दसैँ मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताए। पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दसैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।
(लिम्बु समुदायको दशै मान्ने परम्परा लोप हुँदै, खबरहब,  ७ कार्तिक २०८०) । विशेष गरेर तामाङ, राई, लिम्बु , गुरुङ,शेर्पा र मगरहरु प्राय प्रकृतिक पूजक हुन्छन् र टीका लगाउने अक्षता/चामलमा मिलाउने अबिरलाई लगाउनु मन गरेनन्  होला या अबिर आउनु अघि जस्तो प्रकारले  चामलमा दही मिसाएर टीका लगाउदै थिए त्यसैलाई लगाउनु सजिलो पनि भयो होला र त्यो नै अहिलेसम्म दस्तुर बसेको पनि हुन सक्छ । तर, विज्ञहरुको यस विषयमा मत भिन्न-भिन्नै रहेको छ । “नेपाल पुनजागरण” भन्ने youtube
च्यानलले अरुण कुमार सुवेदीलाई “भूगोल मात्रै राष्ट्र होइन, सास्कृतिक राष्ट्रियताको अर्थ र परिभाषा” भन्ने कार्यक्रममा लिइएको अन्तर्वार्ताको अंश यो लिंकमा सुन्नु होस ।
https://www.facebook.com/share/r/bS4sbLb23R5TJif1/?mibextid=oFDknk
साथै प्राज्ञ डा° जग मान गुरुङज्युले रातो र सेतो टीकाबारेमा आफ्नो मत यसरी प्रकट गर्नु भएको छ, यो लिंकमा सुन्नुहोस ।
https://www.facebook.com/share/r/YRweX4GYPJHvqyVt/
अझ दशै पर्व केलाई भनिन्छ भन्नेमा प्राज्ञ डा° जगमान गुरुङज्यु यसो भन्नु  हुन्छ यो लिंकमा सुन्नु होस ।
https://www.facebook.com/share/2jc6mEzL38anAKCT/
दशै किन मनाइन्छ भन्नेमा कम्युनिष्ट नेता मोहन वैधज्यु “किरण” संगको कुराकानीमा आधारित यो बयान,  “हिन्दु धर्मको मान्यता अनुसार, आसुरी शक्तिमाथि देवताहरुले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरुले नसकेर देवीहरुलाई गुहारेर राक्षसहरुलाई संहार गरेको हुनाले त्यही अवसरलाई दशै मानियो भन्ने कथा पाइन्छ । अझ अगाडी जानु हुन्छ भने तान्त्रिक मान्यता अनुसार, आदिम साम्यवादको जमानामा कृषिको शुरुवात गर्ने सिलसिलामा महिलाहरुले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घटस्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ ।”( मोहन वैध ´किरण` कुराकानीमा आधारित,रातोपाटी, ०६ कार्तिक २०८०)
यस्तै प्रकारले नेपालको धादिङ भन्ने ठाँउमा वाइबा तामाङहरुले कसरी दशै मनाउछन् भन्नेमा स्थानीय राम बहादुर तामाङ  सुनाउँछन् । उनी भन्छन्, “यहाँका वाइबाहरूले प्रत्येक वर्षको बडादशैँको अष्टमीको दिन बिहान भेडा  काटेर भोज गरेर मात्र मौलाको पूजा गर्ने र बडादशैँको अन्य गतिविधिहरू गर्ने चलन छ।” ( धादिङको वाइबाहरुको दशै र ´वाइबा राजा`को कथा, शान्ति माया तामाङ नुवाकोट, बिबिसि न्युज २३अक्टोबर २०२३)
अब गुरुङ (तमु) समुदायले दशै र
तिहार मनाउने कि नमनाउने र मनाए कस्तो प्रकारले मनाउछन् भन्नेमा आफ्नो मत प्रकट गर्दै चन्द्र प्रकाश तमु, लेख्छन् , “हाम्रा पुर्खाहरु सोझा, ईमान्दार, मिहिनेती र प्राकृतिक सम्पदाहरुमा बढी विश्वास राख्दथ्ये । अत: प्राकृतिक धर्म अर्थात् बोम्पो (बोन) धर्ममा विश्वास गर्ने भएकोले ठूल्ठूला पहाड पर्वत, ढुंगा, रुख, हिमाल, खोलानालाजस्ता प्राकृतिक सम्पदाहरुलाई भगवानको रुपमा लिइन्थ्यो र यसैलाई पूजापाठ, दानधर्म, कर्म गरेर आफ्नो कुल तथा वंशजको भलो हुने र जातीयताको पहिचान कायम हुनेमा विश्वास गर्दथ्ये । त्यसैले हाम्रा पितृहरुले मान्दै आएको दसैं, तिहार र हिन्दुहरुले मान्ने दसैं, तिहारमा केही अंशहरु मेल भए पनि हामीले मान्दै आएको दसैं र तिहारमा हाम्रो आफ्नै (कुल धर्म) पुर्ख्यौली परम्पराको विशेषता छ । पुर्ख्यौली परम्पराहरुलाई संरक्षण र संवर्द्धन गर्दै धर्म, संस्कृति र रीतिरीवाजलाई जीवित राखेर आफ्नो पहिचान कायम राख्नु पनि आज हामी सबैको कर्तव्य हो । आज देशमा संघीयता आएको छ, धर्म निरपेक्षता (स्वतन्त्र) भएको छ । सबैले आफ्नो इच्छाअनुसारको धर्म मान्न पाउनु नैसर्गिक अधिकार पाएको छ र कसैबाट जबरजस्ती लाद्नु परेको पनि छैन, तर स्वतन्त्रतामा रोमलिएर आफ्नो कूल, वंशज र पहिचान नै गुमाइरहेको त छैन ? आज हामी  सबै गुरुङ (तमु) दाज्युभाइ, दिदीबहिनीहरुले गम्भिररुपमा सोच्नु पर्ने दिन आएको छ । आज २१औं शताब्दीमा आएर अरु धर्महरुभन्दा बुद्धधर्म प्रति धेरैको आस्था र विश्वास छ तर बुद्धधर्मले पनि दसैं र तिहार मान्नु हुँदैन भनेर कतै लेखेको र भनेको छैन । हिन्दुधर्मको सिद्धान्तअनुसार पशुबलि दिएर रगतको टिका लगाइन्छ भने बुद्धमार्गीमा फलफूलहरु चढाएर दही र चामलको टीका लगाइन्छ । हिँड्ने बाटोमात्र फरक छ, आखिर पुग्ने गन्तव्य एउटै हो । यसकारण हामी गुरुङ (तमु) हरु विवादित भएर बस्नुभन्दा सही र तथ्य के हो सबैले बुझने कोसिस गरौं र आफ्नो पहिचानलाई जीवित राखौ ! अस्तु !!
गुरुङ (तमु)हरुले दशै मान्ने कि नमान्ने ? गोर्खा मिडिया, कार्तिक ०१,२०८०, (लेखक तथा संस्थापक अध्यक्ष लमजुङ समाज युके) ।
दशै तपाईको चाड हो वा होइन बुझेर मात्र मनाऔ । तामाङ, राई, लिम्बु , गुरुङ, शेर्पा, मगर, नेवाले दशै मान्दैन थिए भनेर नेत्र प्रसाद कुरुमबाङ आफ्नो फेस बूक पेजमा लेख्नु हुन्छ, “दशै भारतबाट आयात गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको इतिहास कहिँ कतै कसैले पढ्नु भएको छ ? दशैको टीका थप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुन्डाएर हत्या गरेको थियो । सन्  १८३१ मा गोर्खाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुब्बाङगी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन् । जोगीको भेषमा लिम्बु गाउँमा जासुस  पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।” (नेत्र प्रसाद कुरुमबाङको फेसबुक पोस्टबाट, १८ अक्टोबर २०२३)
यो पोस्टलाई हेर्दा पनि करिब २५० वर्ष अघि देखि लिम्बुहरुले दशै मनाउँदै आइरहेको देखिन्छ र पुस्तौ देखि हाम्रो पुर्खाहरुले मनाउदै आइरहेकोे चाड पर्वलाई भुल्नु या बहिष्कार गर्नु भनेको आफैलाई भुल्नु बराबर हो कि आफ्नो जातिभित्र सबैले मान्यता दिएको एउटा यस्तो चाड पर्वलाई परिभाषित गर्नु पर्‍यो ताकि सबैले त्यो चाडलाई मान्यता दिएको हुनु पर्छ र मात्र दशै लिम्बु समुदायले नमनाउँदा पनि हुन्छ । यस विषयमा राजेन्द्र लिंगदेनज्यु यस्तो भन्नु हुन्छ,”दशै हिन्दुहरुको मात्र होइन, सम्पुर्ण नेपालीहरुको चाड पर्व हो । दशै हाम्रो मौलिक पर्व हो,साझा पर्व हो,  संस्कृतिक पर्व हो, कसैले बिरोध गर्नुको तुक छैन ।” उहाँको अन्तर्वार्ता यो लिंकमा सुनौ
https://www.facebook.com/share/r/Befnw3LsbKQPdENn/
के दशै गैर हिन्दु आदिवासी जनजातिले दशै बहिष्कार गर्नु उचित हो ? भन्ने विषयमा पासाङ शेर्पा लेख्नु हुन्छ, “दसैको राजनीतिक र धार्मिक अर्थ खोज्दा दसैँको सन्दर्भपरक विरोध गर्न सकिन्छ । मिथकीय सन्दर्भमै जाने र विश्लेषण गर्ने हो भने गैरहिन्दु आदिवासी जनजाति र दलितका लागि दसैँ बहिष्कार योग्य धार्मिक पर्व हो, यो पक्ष एउटा फरक परिस्थतिको उपज थियो । यद्यपि त्यो धेरै पुरानो र काल्पनिक हो । त्यसलाई विज्ञानले प्रमाणित गरेको छैन । दसैँको धार्मिक र राजनीतिक अर्थ र उद्देश्य जे निकालिए पनि दसैँ सामाजिक महत्त्वको भइसकेको छ । यद्यपि दसैँबारे भ्रम सत्य र अफवाहका अनेकन खेती दसैँका समर्थक र विरोधीहरूले गरिरहन्छन् । ( रातोपाटी १४ कार्तिक २०८०, दसैमा सुधार्नु र त्याग्नु पर्ने कुराहरु )
शेर्पाज्यु अझ अघि लेख्नु हुन्छ दशै पर्वमा शेर्पा समुदायले पनि आफ्नो आ – आफ्नो पितृलाई सम्झिन्ने गरेको उल्लेख गर्नु भएको छ, “त्यसैले दसैँको धार्मिक र सांस्कृतिक महत्त्व मात्रै छैन, यसको सामाजिक मूल्य र सामाजिकीकरणको अभ्यास पनि छ । दसैँ भाग स्वरूप आफ्ना दिवङ्गत पितृलाई मृत्यु भएको वर्ष दसैँ भाग चढाउने चलन पनि छ, जसलाई शेर्पा भाषामा कज्र्याङ भनिन्छ । त्यसैले दसैँको सामाजिक स्वरूप हिन्दु समुदायइतर पनि रहेको छ । त्यस्तै अन्य समुदायले आआफ्ना पितृलाई दसैँ विशेषमा सम्झने प्रचलन रहेको पाइन्छ । ( रातोपाटी १४ कार्तिक २०८०, दसैमा सुधार्नु र त्याग्नु पर्ने कुराहरु )
शेर्पाज्यु अझ अघि लेख्छन् ,
“दसैँ परिष्कार र बहिष्कार, हार्दिकता र सहअस्तित्व, दसैँलाई प्रतिस्थापित गर्ने र सबैलाई मान्य हुने पर्व मनाउने धारणा पनि चर्चामा आउने गर्छ । दसैँको बारे तर्क वितर्क बहस यसको ऐतिहासिक पक्ष र आजको तुलना सबै गर्न सकिन्छ । तथापि यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको तथ्यलाई नजर अन्दाज गर्न सकिन्न । सामाजिक स्वरूप ग्रहण गरिसकेको समाजमा भिजिसकेको लामोसमयदेखि संस्थागत भइसकेको पर्व अलग थलग गर्न खोज्नु र यस धर्मको बाहुल्य भएको मुलुकमा विरोध र बहिष्कारको नाराले अरूको आस्था र विश्वासमा गहिरो चोट पुग्न सक्छ । (पासाङ शेर्पा )
सिक्किममा पनि दशै – तिहार मान्नु हुन्दैन, यो हाम्रो चाड होइन,फलाना-फलाना जातहरुको मात्र हो भन्ने अफ्वाह,भ्रम धेरै अघि नचलाएको होइन तर यो राजनीतिले प्रेरित थियो
जात – जातमा बिभाजन ल्याएर आफ्नो दुनो सजाउने षडयन्त्र थियो, एउटा जाति देख्दा अर्को जाति डराउने स्थिति थियो तर अहिले सिक्किममा श्रीमान पीएस गोलेज्युको नेतृत्वको एसकेएम सरकारको दुरदर्शिताको कारण सिक्किममा जातीय सद्भावना कायम भएको छ, जातीय एकता र सद्भावना बडेर गएको छ, जातजाति एकसुत्रमा बाधिएको छ, एकै मालामा उनिएको फुल जस्तै सिक्किमको जातजाति भएका छन् । सबै धर्मकालाई आ – आफ्नो चाड पर्व मनाउनु यहाँ स्वतन्त्र छ, अनि कुनै जातिको चाडलाई नमनाउनु भनेर बिरोध गर्दैनन् बरु एका – अर्कामा मिलेर मनाउँछन्  । लिम्बु समुदायले आफ्नो  लिम्बु भाषामा दशै चाडलाई तशी/दशी भन्ने गर्छ, जनश्रुति र इतिहासको पाटोमा अनेक किंवदन्तीहरु भए पनि मरौ भएर जुठो लागेको घर अनि त्यस परिवार भित्रको सन्तान बाहेक अन्य लिम्बुहरुले दशै र तिहार पर्वलाई धुमधामसंग मनाउने गर्छन् ।
पुस्तौ देखि हाम्रो पुर्खाहरुले कुन दस्तुर गर्दै आएका थिए, कुन धर्मलाई विस्वास गरेर मान्दै आएका थिए त्यसैलाई मान्दै जानु र दस्तुरलाई अनुसरण गर्दै जानु हाम्रो परम कर्तव्य र धर्म हो  । खासै भन्नै पर्दा दशै हाम्रो सम्पुर्ण नेपाली समुदायहरुलाई एक सुत्रमा बाँध्ने महान चाड पर्व हो, दशै हाम्रो मौलिक चाड पर्व हो, संस्कृतिक चाड पर्व हो, साझा चाड पर्व हो, यस चाडलाई हाम्रो पुर्खाहरुको सम्झना र बिश्वमा अन्य कुनै जातिमा नभएको हाम्रो मौलिकतालाई बचाई राख्नु अवश्यकता छ । जसले जे भने पनि दशै र तिहारलाई मौलिक चाड पर्व अथवा सामाजिक चाड पर्वको रूपमा मनाउन कदापि भुल्नु हुन्दैन, छोड्नु हुन्दैन, यो हाम्रो कर्तव्य हो, आ-आफ्नो पाराले दशै चाडलाई खुब मनाउनु पर्छ, रमाइलो गर्नु पर्छ, अरु बेला आफन्तसंग भेट भएको अर्कै हो तर दशैमा भेट भएको अर्कै हो, अरु बेला खाएको स्वाद अर्कै हो र दशैको बेलामा मूल घरमा भेला भएर खाएको अर्कै स्वाद हो, सधै आ – आफ्नो ब्यवस्तताले भ्याउनु मुस्किल हुन्छ तर दशैको जमघटमा रमाइलोक्षण साटा- साट पनि हुन्छ अनि परिवारिक भेट्घाट गराउने र परम्पारिक परिकारहरुको स्वादको मुख फेर्ने दशै पर्व एउटा रमाइलो चाड हो ।
अन्तमा २०२४ को महान चाड बडादशै अनि तिहारको शुभ उप्लक्ष्यमा बिश्वमा छरिएर बसेका सम्पुर्ण नेपालीहरुमा शुभकामना साथै सम्पुर्ण मानव जातिलाई नवदुर्गा भवानी माताले रक्षा गरोस साथै  माता लक्ष्मीले धनधान्यले परिपुर्ण  पारोस् ।

Facebook Comments Box