दमक/अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा १०० वर्षको उमेरमा निधन भएको हो ।
कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए । सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बने । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति कार्टर नेपालको राजनीतिक परिवर्तनका बिशेष घट्ना परिघटनाहरुलाई नजिकबाट र चासोपूर्वक नियाल्ने अन्तराष्ट्रिय व्यक्तित्व हुन् । उनी पछिल्लो समय २०७० साल मंसिर १ गते नेपाल आएका थिए । २०७० मसिंर ४ मा भएको राष्ट्रिय निर्वाचनको पर्यक्षवेक्षणका क्रममा कार्टर नेपाल आएका थिए ।
त्यसअघि माओवादी सशस्त्र जनयुद्धको अन्त्य गर्दै बृहत शान्ति सम्झौता, बाह्रबुँदे समझदारी लगायतमा पनि कार्टरले चासो राखेका थिए । २०६४ मा नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनमा पनि चुनावको पर्यवेक्षण गर्न भन्दै कार्टर नेपाल आएका थिए ।

Facebook Comments Box