इजरायलको हवाई हमलामा हमासका एकजना उच्च नेता मारिएका छन ।

गाजा सिटीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस क्षेत्रमा इजरायलले गरेको आक्रमणमा उच्च राजनीतिक नेता सला अल बर्दाविलको मृत्यु भएको हमासकै अधिकारीले पुष्टि गरेका छन ।

स्थानीयका अनुसार हमलामा बर्दाविलकी श्रीमतीको पनि ज्यान गएको छ । तर इजरायली अधिकारीहरुले भने कुनै प्रतिकृया दिएका छैनन ।

इजरायली सेनाले मंगलबारदेखि गाजामा ठूलो हवाई आक्रमण पुनः सुरु गरेको छ ।

१९ जनवरीमा सुरु भएको युद्धविराम सम्झौतामा हस्ताक्षर गरिएको सहमति र लगभग दुई महिनाको शान्ति अन्त्य गर्न हमासलाई दोषी ठहराउदै इजरायलले गाजामा हमला सुरु गरेको हो ।

तर हमासले भने इजरायली आरोपलाई अस्विकार गरेको छ । हमासले इजरायलमाथि युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ । युद्धविरामलाई कतार, इजिप्ट र अमेरिकाले मध्यस्तता गरि दुबै पक्षले हस्ताक्षर गरेका थिए । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा गाजा स्ट्रिपको विभिन्न भागमा ३२ प्यालेस्तिनीको मृत्यु भएको बताएको छ ।

इजरायली सेनाले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो ।

Facebook Comments Box