दमक/  पूर्व क्षेत्रका सामुदायिक क्याम्पसका प्राध्यापकहरुको क्षमता बिकासका लागि दमकमा सञ्चालन गरिएको ६ दिवसीय तालिम समापन भएको छ । विश्व बिद्यालय अनुदान आयोगको प्राविधिक सहयोगमा दमक बहुमुखी क्याम्पसले सञ्चालन गरेको तालिमको आइतबार औपचारिक कार्यक्रमबीच समापन गरिएको हो ।

विश्व बिद्यालय अनुदान आयोगको परियोजना सञ्चालनमा रहेका झापा, मोरङ, पाँचथर , ताप्लेजुङ लगायतका पूर्व क्षेत्रका विभिन्न १३ वटा सामुदायिक क्याम्पसका प्रतिनिधिमुलक ३० जना प्राध्यापकहरु सम्मिलित सो तालिममा १६ जना विज्ञहरुले प्राध्यापकहरुको क्षमता बिकासका लागि विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरीले जानकारी दिनु भयो ।

विश्व बिद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले उदघाटन गर्नुभएको तालिमको समापन कार्यक्रममा परिक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक प्राध्यापक डा. गोविन्द गुरागाइँको प्रमुख आतिथ्य रहेको थियो । उहाँले त्यस अवसरमा प्राध्यापकहरुको दक्षता विकास र समय अनुसार सम्बन्धित बिषयहरुमा अपग्रेडको आवश्यकता औंल्याउनु भयो । उहाँले त्रिभुवन क्याम्पसहरुमा अझै पनि परीक्षाको मर्यादा उल्लंघनका घट्नाहरु देखिनु चिन्ताको बिषय भएको चर्चा पनि गर्नुभयो । उहाँले नेपालका क्याम्पसहरुमा शैक्षिक गुणस्तरको बिकास हुन नसके क्याम्पसहरु रित्तो हुँदै जाने खतरा तर्फ सचेत गराउनु भयो ।


दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्राध्यापकहरुलाई प्रमाण पत्रसँगै दमक बहुमुखी क्याम्पसद्धारा प्रकाशित जर्नल समेत उपहार स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा दमक बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष सुरेश सुब्बा, मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्य, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । तालिममा सहभागीहरु रवि क्याम्पस पाँचथरकी प्रमुख टिकादेवी भट्टराई र विरेन्द्र क्याम्पस चन्द्रगढीका प्रमुख प्रेमप्रसाद घिमिरे लगायतले अनुभव सहित भनाइहरु राख्नु भएको थियो भने दमक क्याम्पसका प्रमुख यज्ञराज गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा तालिम संयोजक पूर्व क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकीले धन्यवाद मन्तव्य राख्नु भयो भने प्राध्यापक डिल्ली भट्टराईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box