दमक/ झापाको दमकमा सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहेको अन्तराष्ट्रिय सञ्जाल भएको रोटरी क्लब अफ दमकको नयाँ नेतृत्वले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ ।
क्लबको नेतृत्व केशवकुमार अग्रवालले सम्हालेपछि सो टिमले आफ्नो बार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । रोटरीले शिक्षा, स्वास्थ्य, शान्ति, सरसफाई, आर्थिक सशक्तिकरण, महिला सशक्तिकरण , वातावरण संरक्षण लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ ।
क्लबले बिहिबार पत्रकार सम्मेलन गरेर आगामी एक बर्ष भित्र सञ्चालन गर्ने सामाजिक सेवाका कामहरु बारेमा जानकारी गराएको थियो ।
क्लबका अध्यक्ष अग्रवालले पोलियो निर्मुलीकरण, स्वास्थ्य शिविर, रक्तदान सहित स्वास्थ्य चेतनाका कार्यक्रमहरु गरिने जानकारी दिनु भयो । त्यस्तै मातृ तथा बाल स्वास्थ्य तर्फ सुरक्षित प्रसुति, पोषण , खोप कार्यक्रम आदी सञ्चालन गरिने जनाइएको छ ।
दमकमा स्थापनाकालदेखिनै सक्रिय भुमिका निर्वाह गर्दै आएको संस्थाले दमकमानै पहिलो पटक मिर्गौलाका बिरामीहरुका लागि डयलोसिस सेवा सञ्चालन गरिरहेको र दमकको एक निजी अस्पतालसँगको साझेदारीमा सञ्चालित सो सेवाबाट दैनिक १४ देखि १६ जना सम्म बिरामीहरुले सेवा लिइरहेका रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष समेत विक्रमकुमार साहले जानकारी दिनु भयो । लाइफलाइन अस्पताल दमकसँगको साझेदारीमा सञ्चालित सो सेवा दमक र आसपास क्षेत्रका लागि पयाृप्त नभएकाले थप विस्तारको योजना रहेको समेत उहाँले बताउनु भयो । सो अवसरमा क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, सन्दीप चापागाइँ (दिपु) लगायत रोटरीमा क्रियाशील व्यक्तित्वहरुले रोटरीको कार्यक्षेत्र, योजना र यसबाट समाजमा पुगेको योगदान आदीका बिषयमा जानकारी गराउनु भएको थियो ।