दमक/ झापाको दमक ९ की स्थायीबासिन्दा, राजनीतिक तथा सामाजिक व्यक्तित्व महिला नेतृ मन्धरा चिमरिया पौडेलले आफ्ना छोरा स्वर्गीय खगेन्द्र पौडेलको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकमा एक लाख बढीको सहयोग प्रदान गर्नुभएको छ ।
नेपाली कांग्रेसकी महासमिति सदस्य, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष , दमक बाल बृद्धा आश्रमकी अध्यक्ष समेत रहनु भएकी दाता पौडेलले इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी रामप्रसाद तिमल्सीना मार्फत प्रहरी कार्यालयमा थुनुवा र डिउटीमा रहने प्रहरी कर्मचारीहरु समेतका लागि उपयोगी ४०÷४० थान कम्बल, म्याट, सिरानीसहित पर्दा, बाल्टीन, जग लगायतका सामान हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रहरीका पूर्व राष्ट्रसेवक समेत रहनु भएका राजेन्द्र पौडेल र मन्धराका सुपुत्र खगेन्द्रको दुई बर्ष अघि अमेरिकामा कार दुर्घटनामा परेर निधन भएको थियो । उहाँको परिवारले दमक बहुमुखी क्याम्पस, दमक बाल बृद्धा आश्रम, पौड्याल वंशोद्धार लगायत विभिन्न सामाजिक सेवामुलक संस्थाहरुमा स्वर्गीय खगेन्द्रको स्मृतिमा अक्षयकोष स्थापना, राहत तथा सहयोग सामग्री हस्तान्तरण गर्ने जस्ता कामहरु गर्दै आएको छ ।
बुधबार प्रहरी कार्यालयमा आवश्यक ति सामग्रीहरु हस्तान्तरण कार्यक्रममा डिएसपी तिमल्सीनाले दिवंगत खगेन्द्रको स्मृतिमा दाता पौडेल परिवारले सामाजिक सेवामा गरेको सहयोगको प्रशंसा गर्नु भयो । दिवंगत खगेन्द्रको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित सो सहयोग हस्तान्तरणको अवसरमा दमकस्थित विभिन्न राजनीतिक दल, सामाजिक, शैक्षिक संस्थाका प्रतिनिधिहरु र सुरक्षा निकायका अधिकारीहरुको समेत सहभागिता थियो ।