दमक / नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन चुनावी तालमेल गरेर दुवै जना चुनाव जित्ने रणनीतिमा सफल हुँदै आएका नेता हुनुहुन्छ ।
संयोगले आज राप्रपा अध्यक्ष लिङदेन ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने दमकमा पार्टीको नगर अधिवेशन उदघाटन गर्न आउनु भयो । उनले आफ्ना सयौं कार्यकर्ताहरुमाझ दमकस्थित पशुपति मन्दिरको सभाहलमा सम्बोधन गर्दै यतिबेला ओली सरकार भ्रष्टाचार र शोषणमा लिप्त रहेको भनि कडा आलोचना गर्नुभयो ।

चुनाव ताका आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ मा एमाले समर्थित मत आफू तर्फ तान्न क्षेत्र नं ५ मा आफ्नो पार्टी नेता कार्यकर्ताहरुलाई ओलीलाई मत दिन सहज बनाइदिने गरेका राप्रपा अध्यक्ष लिङदेनले ओलीकै निर्वाचन क्षेत्रमा आएर शनिबार आगामी निर्वाचनमा राप्रपाले उच्च मत प्राप्त गर्ने र मुलुकमा आमूल परिवर्तन ल्याउने उदघोष गर्नु भयो । राप्रपाले अबको चुनावमा सबै ठाउँबाट उच्च स्तरको मत प्राप्त गर्न सक्ने अबस्था आएको हुँदा अब २००७ र २०४६ सालको जस्तो आमूल परिबर्तन ल्याउन धेरै समय कुर्नु पर्दैन–लिङदेनले भन्नु भयो ।  उहाँले आगामी निर्वाचनमा एमाले वा अरु कुनै दलसँग अघिल्ला चुनावमा जस्तै तालमेल हुने नहुने भन्ने बारे भने स्पष्ट बताउनु भएन ।

उहाँले हालसम्म पार्टीमाथि कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको स्पष्ट पार्दै, सुशासन र जनताको पक्षमा राप्रपा सधैं सक्रिय रहने पनि बताउनु भयो।
राप्रपा दमक नगर समितिको ११ औं नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले त्यस्तो बताउनु भएको हो ।


पार्टीको नगर अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ ।  कार्यक्रममा पार्टीमा योगदान पुर्याएका १०२ अग्रजलाई सम्मान गरिएको थियो भने ११७ जना नयाँ सदस्यले पार्टी प्रवेश गरेका थिए । राप्रपामा प्रवेश गर्नेहरुमा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार सुजन गौतम समेत रहनु भएको छ ।

कार्यक्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिबद्धय बाशुदेब भट्टराई,कुमार भट्टराई केन्द्रिय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रिय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रिय सदस्य बिक्रम सुब्बा हरी तिवारी,झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा,सचिब कुमार थापा,प्रदेश सदस्य राजु खड्का कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं ५ का अध्यक्ष भीम पौडेल, लगायतको आतिथ्य रहेको थियो । राप्रपा दमकको नगर नेतृत्वका लागि सुवेदीसहित नेत्र चम्लागाइँ र राजकुमार योङयाको समेत दाबी रहेको भएता पनि अधिवेशनले पुनः सुवेदीको अध्यक्षतामानै आगामी कार्यकालका लागि सर्वसम्मत नगर समिति चयन गरेको बताइएको छ ।

Facebook Comments Box