दमक/ झापाको दमकमा मुख्य कार्यालय स्थापना गरेर झापा, मोरङ र इलाममा समेत वित्तीय कारोबार गर्दै आएको मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २९ औं बार्षिकोत्सव तथा ३१ औं बार्षिक साधारण सभा शुरु भएको छ ।
२८ श्रावणदेखि  शुरु भएको इकाइगत साधारण सभा आगामी भाद्र १२ गते निर्णय प्रमाणीकरण साधारण सभा गर्दै सम्पन्न हुने संस्थाले जनाएको छ ।
साधारण सभा शुरु हुनु अघि बिहान संस्थाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको पहिचानलाई कायम राख्दै यस बर्ष मेची आवास २ का लागि जग्गा खरिद गर्न ५ करोड रुपैयाँ बजेटको व्यवस्था गरिनुका साथै योजना ल्याइएको बताउनु भयो ।
त्यस्तै उहाँले विगतदेखिनै संस्थाले परिकल्पना गरेको तर योजनाका रुपमा अघि बढाउन नसकिरहेको सहकारी बिद्यालय सञ्चालनको लागि पनि बजेटको व्यवस्था गरिएको बताउनु भयो । उहाँले भन्नु भयो– संस्थाले पहिलादेखि सहकारी बिद्यालय खोल्ने सोच बनाएर अध्ययन गरेको हो तर केही कानुनी जटिलताहरुका कारण अगाडी बढ्न सकेको थिएन तर पछिल्लो समय सहज बन्दै गएको छ अब सहकारी बिद्यालय सञ्चालन गर्छौै ।
सहकारी संस्थाले सञ्चालन गर्ने त्यस्तो बिद्यालयमा एक बिद्यार्थीका अभिभावकसँग ५० हजार रुपैयाँ लिएर बिद्यालय तहको पूरै पठनपाठन गराउने लक्ष्य राखिएको पनि अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । बिद्यालय सञ्चालनको लागि हाल २ करोड रुपैयाँ बजेटको व्यवस्था गरिने संस्थाले जनाएको छ ।
अध्यक्ष भट्टराईका अनुसार, सहकारीका विषयमा पीएचडी गर्ने सदस्य सन्तानलाई रु १ लाख अध्ययन खर्च प्रदान गरिनेछ। यसबाहेक, एसईईमा जिल्ला प्रथम हुनेलाई रु ५० हजार र ४ GPA ल्याउनेलाई रु २५ हजार छात्रवृत्ति दिने कार्यक्रम पनि ल्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिनु भयो ।
हाल सहकारीका १२ वटा सेवा कार्यालय (झापामा ६, मोरङमा ५ र इलाममा १) सञ्चालनमा छन्। ३ सय कर्मचारी र १७,८१७ शेयर सदस्य रहेको संस्थाले जन्मदेखि मृत्युसम्मका ३० प्रकारका सुविधा सदस्यलाई प्रदान गर्दै आएको छ।
Facebook Comments Box