दमक/ सडक दुर्घटना न्यूनीकरणमा सघाउँदै दमक नगरपालिकाले इलाका प्रहरी कार्यालय दमकलाई करिब ५ लाख रुपैयाँ बराबरका मापसे तथा लागूऔषध सेवन पहिचान गर्ने उपकरण (वे्रथलाइजर मेसिन) सामग्री प्रदान गरेको छ ।
नगरपालिका कार्यालय परिसरमा बुधबार आयोजित संक्षिप्त कार्यक्रममा ३ थान ब्रेथलाइजर मेसिन र लागूऔषध परीक्षणका लागि १०० थान किट उपलब्ध गराइएको नगरपालिकाका समाज कल्याण शाखाका अधिकृत केशव प्रसाईले जानकारी दिए ।
ति सामग्रीहरू नगर प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थापाले चालकहरूले मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको र यसको यकिनका लागि जाँच गर्ने उपकरणका माध्यमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपप्रमुख भट्टराईले पनि ब्रेथलाइजर लगायतका सामग्रीले मापासे तथा लागूऔषध परीक्षणलाई थप सहज बनाउने र प्रहरी अनुसन्धानमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको बताइन् ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक लम्सालले आवश्यक उपकरण अभावका कारण चेकजाँच कार्यमा समस्या हुँदै आएको उल्लेख गर्दै अब भने कार्यसम्पादनमा सहयोग पुग्ने उल्लेख गरे । यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा दमकस्थित प्रहरी तथा ट्राफिक कार्यालयमा आगजनी र लुटपाट हुँदा आधा दर्जनभन्दा बढी ब्रेथलाइजर मेसिन हराएका थिए त्यसयता एउटा मात्र उपकरणको सहायताले मापसे जाँच सञ्चालन हुँदै आएको थियो ।

Facebook Comments Box