कमल/ झापाको कमल गाउँपालिकामा नयाँ वर्ष २०८३ को अवसर पारेर “हामी युवाको प्रतिबद्धता, लागू औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने मूल नारासहित कमल मिनी म्याराथन आयोजना गरिने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन बुधबार कमल गाउँपालिका–केर्खास्थित पत्रकार सम्मेलन गरिएको छ ।

आयोजक कमल युथ फाउन्डेशनका अनुसार बैशाख १ गते १२ किलोमिटर दूरीको ओपन मिनी म्याराथन प्रतियोगिता सञ्चालन गरिनेछ।
प्रतियोगितामा करिब ३ हजार खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष जितेन साम्पाङले जनाए ।
युवाहरूलाई लागूऔषध दुव्र्यसनबाट टाढा राख्ने, कमल गाउँपालिकाको पहिचान प्रवद्र्धन गर्ने, खेलकुदमार्फत युवाहरूबीच एकता अभिवृद्धि गर्ने तथा राष्ट्रियता र भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।
कार्यक्रमका संयोजक आशिष लेछार्बाे रहेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै, पहिलो १० जना विजेतालाई मेडल र सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
म्याराथन कमल–४ स्थित रिजाल पेट्रोल पम्पबाट सुरु भई समायगढ, क्याम्पा बजार हुँदै केर्खामा पुगेर समापन हुनेछ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले कमल युथ फाउन्डेशनको फेसबुक पेजमार्फत अनलाइन फारम भर्न सक्नेछन्।
प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने परिचय खुल्ने कुनै पनि कागजातका आधारमा दर्ता गर्न सकिनेछ । विभिन्न पालिकाका खेलाडीहरूलाई पनि सहभागिताका लागि खुला गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box